इपिएस अन्तर्गत दोस्रो चरणको परीक्षा आजबाट शुरु

0
476

काठमाडौँ, भदौ ८ । पछिल्लो समय नेपालमा बेरोजगारीको संख्यामा वृद्धि हुँदै जान थालेपछि विदेशिने नेपालीहरुको संख्या पनि बढ्दै गएको छ ।

पैसा कमाएर आफ्ना सन्तानको मुहारमा खुशी छाउने आस बोकेर विदेशिनुपर्ने वाध्यता प्राय नेपालीहरुमा हुने गरेको पाइन्छ ।

दक्षिण कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्नका लागि रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा सिबिटी आजदेखि प्रारम्भ हुने भएको छ ।

परीक्षाको सम्पूर्ण तयारी सकिएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताएका छन् । दोस्रो चरणको भाषा परीक्षामा करीब तीन हजार २०० परीक्षार्थीले सहभागीता जनाउने उनले जनाएका छन् ।

कम्प्युटरबाट परीक्षा लिइने भएकाले सो परीक्षा करीब एक महिनासम्म चल्नेछ । दक्षिण कोरिया सरकारले इपिएस अन्तर्गत काम गरी वैधानिक तवरले फर्केका व्यक्तिका लागि पुनः कोरियामा काम गर्ने अवसर प्रदान गर्नका लागि सिविटी परीक्षा सञ्चालन गर्दै आएको छ ।

कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा पास गरेपछि पुनः चार वर्ष १० महिना कोरियामा काम गर्न जाने अवसर प्राप्त हुने शाखाले बताएको छ ।

यसैबीच, सन् २०१८ भाषा परीक्षा उतीर्ण भई स्वास्थ्य परीक्षण सम्पन्न गराएका उम्मेदवारले शुक्रबारदेखि रोजगार आवदेन फारम भर्ने काम थालिने शाखाले जानकारी गराएको छ ।

सन् २०१८ को भाषा परीक्षामा सात हजार ९९८ जनाले उतीर्ण गरेका थिए । दिनको एक हजारको दरले एक सातासम्म रोजगार आवेदन फारम भर्ने प्रबन्ध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here