खेलकुदका लागि पोखरा प्राथमिकतामा , १३ औँ सागमा पाँच खेल पोखरामा गरिने

0
715

पोखरा, साउन २४ । आगामी १३ औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पोखरा सबैभन्दा प्राथमिकतामा परेको युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले बताएका छन् ।

पोखरा रंगशालाको निरीक्षण गर्ने क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए । आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी दिँदै मन्त्री केसीले निर्धारित समयावधिभित्र रंगशाला बनाउन निर्देशन समेत दिएका छन् ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १३ औँ सागमा पाँच–छ खेल पोखरामा सञ्चालन गर्ने तय लगभग भइसकेको जानकारी दिँदै त्यही रुपमा तयारी पनि अगाडि बढाइएको बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिलकुमार गुरुङले खेल क्षेत्रलाई भ्रष्टाचारमुक्त गरिनुपर्नेमा जोड दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले खेलकुदको विकासका लागि पोखरा उर्वर भूमि भए पनि प्रशिक्षकका अभावजस्ता समस्या भोग्नुपरेको गुनासो गरे । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले पोखरा रंगशाला ४१७ रोपनी क्षेत्रफलमा फैलिएको र यहाँ पछिल्ला समयमा बहुउद्देश्यीय कबर्ड हललगायत संरचना निर्माण भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here