गठबन्धनभित्र देखिएका कुइनेटाहरु

काठमाण्डौं । पाँच दलीय गठवन्धनको बलमा पाचौं पटक प्रधानमन्त्री बन्न सफल प्रधानमन्त्री शेरवहादुर देउवा आफूसहित पाँचजना मन्त्रीबाट देश चलाइरहेका छन् ।

७५ बर्षीय देउवा एक्लैले १७ वटा मन्त्रालयको जिम्मेवारी धानिरहेका छन् । संसदमा जम्मा २३ जना निर्वाचित सांसद भएको दल नेपाली कांग्रेसको सभापति भएका देउवा गठवन्धन सरकार चलाउन माहिर भनेर चिनिन्छन ।

अर्थात,उनी कसलाइ के दिनुपर्छ दिएर काम चलाउने पात्रको रुपमा चिनिएका छन । तर,यसपटक सरकार वन्यो,छापामार शैलीमा उनले १६५ जना सांसदको विश्वास वटुल्न पनि सफल भएका छन तर पनि मन्त्रीमण्डल विस्तारमा सफलता पाएका छैनन ।

अघिल्लो सरकार भन्दा नितान्त फरक छ यो सरकार भन्ने सन्देश दिन सरकार वनेर मात्र पुग्दैन । यसको लागि सरकार जनप्रिय काम गर्नुपर्छ । यतिवेला राष्ट्रका सामु दुइ ठुला संकट छन–

एक, कोभिड–१९ विरुद्धको लडार्इँ र धरासायी बन्दै गाएको अर्थतन्त्र उकास्ने ।
यी दुवै कामको लागि सरकारले पुर्णक्षमतामा काम गर्नुपर्छ । तर यो गठवन्धन सरकार हो । सहमतीय सरकारमा प्रधानमन्त्रीको मात्र भुमिका रहदैन ।

यसमा गठवन्धनका घटकहरुको वरोवर भुमिका रहन्छ । सरकार मात्र होइन, सिंगो गठवन्धनको ध्यान नै अहिले मन्त्रीपरिषद विस्तार गर्ने कि पार्टी जोगाउने भन्ने अवस्थाको छ ।

अर्थात हरेक राजनीतिक दल पार्टी नभएर गुटहरुको महासंघ जस्तो भएका छन । साच्चै भन्ने हो भने गठवन्धनलाइ केपी ओली सरकार ढाल्न जति कठिन भयो नयाँ सरकारमा कसलाइ मन्त्री वनाउने भनेर ब्यक्ति छान्नको लागि त्यो भन्दा सकस परेको छ ।

केपी ओलीको सरकारले राम्रो काम गर्न सकेन भनेर तिव्र असन्तोष भएपछि वनेको यो नयाँ सरकारले कामको थालनी न्युनतम साझा कार्यक्रम तयार पारेर गर्नुपथ्र्यो ।

सरकारले के गर्ने र यसको लागि गठवन्धनकारी शक्तिविच कस्तो तालमेल हुनुपर्ने भन्ने तय हुनुपथ्र्यो । वडा लोसो पारामा न्युनतम साझा कार्यक्रम वल्ल तयार भएको छ ।

यसले राम्रो सन्देश दिएको छैन । हुनत गठवन्धनकारी शक्तिले मन्त्रीपरिषद गठनमा ढिलाइ नभएको तर्क पनि गर्न सक्छन तर कस्तो अवस्थामा सरकार वनेको छ र यसका सामुन्नेका चुनौती कस्ता छन भन्ने कुरालाइ हेक्का राख्नुपर्छ ।

चुनौतीलाइ ध्यान दिएर हेर्ने हो भने सरकारलाइ एकदिन पनि विलम्व गर्ने, वालुवाटारको चौघेरोभित्र रमाएर वस्ने वा यो संकटको घडीमा उदघाटन र खादा माला गरेर वस्ने छुट छैन ।

मन्त्रीपरिषद सानै आकारको पनि हुन सक्छ यो जनतालाइ सरोकार भएको विषय होइन । कुरा यति हो कि भएकै मन्त्रीपरिषदले पनि जनताको ओठमा खुशी ल्याउने गरि काम गर्नुपर्छ ।

तर,मन्त्रीपरिषद विस्तार र यसकै लागि गठवन्धनकारी शक्तिको विचमा निरन्तर रिले दौड हुनु भनेको राष्ट्रिय लज्जाको विषय हो । सरकारले सवैभन्दा पहिला आफनो लक्ष्य तोक्नुपर्छ ।

यसपछि कसरी लक्ष्य प्राप्ति गर्ने भन्ने वाटो तय गर्नुपर्छ । तर, यसो नगरि सरकार चल्यो भने–म जिन्दगीभर हिंडिरहें तर कहिं पनि पुगिन्छ भन्ने गीत जस्तो हुनेछ ।

देउवा नेतृत्वको गठवन्धन सरकारलाइ जनादेशले होइन,परमादेशले वनाएको भनेर वालुवाटारबाट वालकोट पुगेका केपी ओली सहितको टिमले आक्षेप लगाइरहेको छ ।

अर्थात उनले आफुलाइ जनताले म्यान्डेट दिएको तर देउवालाइ भने अदालतले प्रधानमन्त्री वनाइदिएको भनिरहेका छन । अब देउवाको चुनौती नै यहिनेर छ । उनले अब प्रमाणित गर्नुपर्नेछ कि म जनताको प्रतिनिधि हो भनेर ।

उसो त उनी डडेल्धुराबाट निर्वाचित सांसद हुन् । यसमानेमा उनले जनताबाट निर्वाचित भनिरहन पर्दैन । यो सोझो कुरा भयो तर उनले म जनप्रतिनिधि हो भनेर यसैकारण झन बढी प्रमाणित गर्नुपर्नेछ ।

अर्थात, नेपालका नेता जब निर्वाचित हुन्छन् तब उनीहरु सेवक नभए शासक हुने मनोवृत्ति छ । अझ राज्य सत्ता नै सञ्चालन गर्न थालेपछि उनीहरु आफुलाइ झन ठूलो शासक ठान्दछन् ।

यसैकारण म जनताको सेवक हो भनेर जनचाहना अनुसारको काम गरेर देउवाले देखाउनुपर्नेछ । त्यसकारण उनले सरकारको प्राथमिकता तोक्नुपर्छ । तडकभडक रोक्नुपर्छ ।

खस्कँदै गएको राजनीतिकर्मी प्रतिको साखलाइ पुन जागृत गर्नुपर्छ । राष्ट्रिय हितमा एकइन्च पनि सम्झौता गर्नहुन्न । के यी सवै काम उनले अघिल्ला प्रधानमन्त्री ओलीले जस्तै भाषणबाट गर्न सक्छन् ? देउवाको अभिब्यक्ति त्यति धारिलो छैन भन्ने कुरा सवैलाइ थाह भएकै विषय हो ।

यसकारण उनले कामबाट नै जनतालाइ खुशी पार्ने हो । र,जनताले अतिउच्च आकांक्षा राख्नु नै केपी ओली पतनको एउटा कारण हो भने जनताले कुनै खास आकांक्षा नराख्नु नै देउवाको लागि अति अनुकूल अवस्था हो ।

तर, के उनी सरकार बनेको तीन सातामा खरो उत्रिरहेका छन् ? योजना आयोग उपाध्यक्ष, प्रदेश प्रमुखको नियुक्तिबाट स्यावासी पाएका छन् । भूमि आयोगको खारेजीबाट मिश्रित प्रतिक्रिया पाएका छन् ।

तर, उनकै भेग दार्चुलाको जयसिंह धामी प्रकरणमा मौनता साधेबाट जनस्तरबाट आलोचनाको शिकार भएका छन् । उमेर र राजनीतिकर्म दुवैले देउवा उत्तरार्धमा छन् ।

पाच पटक प्रधानमन्त्री,पाच पटक निर्वाचित सांसद, दुईपटक पार्टी सभापति उनी भइसकेका छन् । साच्चै भन्ने हो भने उनले अब यो देशबाट पाउन वाँकी केही छैन । अब उनले देशलाइ दिने बेला आएको छ ।