‘गैरआवासीय नेपालीहरूको सुख र दुःखको साथ र हात बन्न चाहन्छु’

कुल आचार्य : केन्द्रीय अध्यक्ष उम्मेदवार, गैरआवासीय नेपाली संघ
काठमाडौं। कुल आचार्यलाई धेरैले सोध्ने गर्छन्, –‘समाज सेबामा लागेर के पाउनुभयो ? सामाजिक अभियन्ता भएर के भयो ?’ आचार्यले आफ्नो लामो प्रवासी जीवन यात्रामा यी र यस्ता थुप्रै प्रश्नहरू धेरै पटक झेलिसकेका छन्।

तर, समाजसेवासँगै सामाजिक अभियन्ताको दौडमा होमिएका उनले आफूलाई कहिल्यै कमजोर रूपमा प्रस्तुत गरेनन्। लिन होइन, भएको दिन र बाँडेर खान अनि भाइचारा बढाउँदै गैरआवासीय नेपालीहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने जीवनको धेय ठानेका, सोचेका र यसलाई नै उद्देश्य बनाएका आचार्य बेलायत बसेको पनि धेरै भैसक्यो।

कर्मथलो बेलायत भए तापनि नेपाल लगायत विभिन्न देशमा रहनुहुने गैरआवासीय नेपालीहरू माझ आचार्यले राम्रै पहिचान र उपस्थिति जनाउंदै आएका छन्।

प्रवासी नेपालीहरूको साथ, सहयोग र समर्थन पाएकै कारण कुल आचार्यले गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०२१–२०२३ का लागि केन्द्रीय अध्यक्ष पदमा उम्म्मेदवारी दिने घोषणा गरेका छन्।

गैरआवासीय नेपाली संघ बेलायत र केन्द्रसँग लामो समयदेखि आबद्ध रहेर नेपाल र नेपालीको हकहितको पक्षमा आवाज बुलन्द गर्दै अगाडि बढेका आचार्यको यस पटकको उम्मेदवारीलाई गैरआवासीय नेपालीहरूले सकारात्मक रूपमा लिएका छन्।

आचार्यको उम्मेदवारीको घोषणासँगै तातेको चुनावी माहोल साँच्चै यस पटक कुलको पक्षमा नयाँ जोश, जाँगरका साथ अगाडि बढेको देखिन्छ ।

“पद्दती र पारदर्शिता, समाजसेवी एनआरएनए हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा, सोच र उद्देश्यलाई शिरोधार्य गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका आचार्य गैरआवासीय नेपालीहरू माझ सभ्य, भव्य, शालिन र सहयोगी मनका व्यक्तिका रूपमा चिनिन्छन्।