दशैँका लागि भदौ २८ देखि नयाँ नोट साट्न पाइने

0
802

काठमाडौं, भदौ १९ । नजिकिँदै गरेको नेपालीहरुको महान चाड बडा दशैं २०७४ को लागि नेपाल राष्ट्र बैंकले यहि भदौ २८ गतेदेखि नयाँ नोट साट्ने सुविधा प्रदान गर्ने भएको छ ।

अघिल्ला वर्षहरुमा थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयबाट सटही गरिने व्यवस्था गरिएको भए पनि यसपटक भने नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका शाखाहरुबाट नयाँ नोट साट्न मिल्ने व्यवस्था गर्न लागिएको राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ । विभागले सार्वजनिक सूचना जारी गरी थापाथली परिसरस्थित क्षतिग्रस्त सिंहमहल भत्काउने कार्य भैरहकोले अन्य बैंकबाट नयाँ नोट वितरण गर्न लागिएको जानकारी गराएको छ ।

नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्सालबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको जनाएको छ । कृषि विकास बैंकका शाखाहरु गौशाला, कोटेश्वर, रामशहपथ, रत्नपार्क र मंगलबजारबाट पनि नयाँ नोट सटहीको व्यवस्था गरेको राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

यी बैंकबाट एकजनाको दरले २० हजारसम्म नयाँ साट्न पाउने व्यवस्था मिलाइएको हो । ५, १०, २०, ५० र १०० का नयाँ नोटहरु साट्न सकिनेछ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका सटही काउन्टरबाट भने एकजनाले २७ हजारसम्म साट्न पाउनेछ । यस्तै उपत्यका बाहिर पनि राष्ट्र बैँकबाट नयाँ नोट साट्न सकिने पनि मुद्रा व्यवस्थापन विभागले जनाएको छ । सं

वैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ/संस्थालगायत कार्यालयहरुलाई सम्बन्धित निकायको पत्रको आधारमा नयाँ नोटको उपलब्धता हेरी सटही गर्ने कार्य मुद्रा व्यवस्थापन विभाग, थापाथलीको काउन्टरबाट २०७४ भाद्र २१ गतेदेखि ३० गतेसम्म नोट सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here