नयाँ सोच र परिवर्तनको पक्षमा उभिने नेतृत्व आजको आवश्यकता

अर्चना रेग्मी, महाधिवेशन प्रतिनिधि उम्मेदवार, क्षेत्र नं. ३, दाङ

नेविसंघबाट राजनीतिमा खारिएकी अर्चना रेग्मी कांग्रेसकी उदीयमान नेतृ हुन्। दाङमा जन्मिएकी रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेकी छन्। नेविसंघको केन्द्रीय सदस्य भइसकेकी उनी राजनीतिमा स्वस्थ प्रतिस्पर्धाले क्षमता अभिवृद्धि हुने ठान्दछिन्। उनै रेग्मीसँग कांग्रेसको १४औं महाधिवेशनलाई केन्द्रित गरेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेस अधिवेशनको जिल्लामा कस्तो चहलपहल छ ?
अहिले जिल्लामा कांग्रेस अधिवेशनको चहलपहल बढेको छ । दाङ जिल्लामा वडा समितिको निर्वाचन सम्पन्न भइसक्यो । म पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छु । अब केन्द्रीय महाधिवेशन प्रतिनिधिको तयारी गरर्दै छु ।

तपाईं केन्द्रीय महाधिवेशन प्रतिनिधि उठ्दै हुनुहुन्छ ?
अब म नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार हो । म दाङ क्षेत्र नं. ३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेकी छु । १४ औं महाधिवेशनमा दाङबाट केन्द्रीय प्रतिनिधि भएर काठमाडौं आउने तयारीमा लागेकी छु ।

नेपाली कांग्रेसमा युवाले चुनाव जित्नुपर्छ भन्ने एजेन्डा के ?
अहिले नेपाली कांग्रेसमा ‘अग्रजलाई सम्मान, युवालाई अवसर’ भन्ने नारा देशैभर अभिव्यक्त भएको छ । त्यसैलाई अनुसरण गर्दै म पनि अगाडि बढेकी छु । अब कांग्रेसलाई सशक्त ढंगले अगाडि बढाउन र आइपर्ने चुनौतिहरुको सामना गर्न युवा वर्गको आवश्यकता छ । त्यसको लागि युवालाई अगाडि बढाउनुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि आएका हौं ।

तपाईंलाई महाधिवेशन प्रतिनिधि जिताउनुपर्ने कारण के ?
म नेविसंघको केन्द्रीय सदस्य भइसकेको मान्छे हुँ। अहिले फेरि पार्टीमा युवाहरुको लहर आएको छ । त्यसको प्रतिनिधित्वको लागि पनि म उपयुक्त उम्मेदवार हुँ। अग्रज नेताहरुबाट विस्तारै नेतृत्व युवामा हस्तान्तरण हुँदै जानुपर्छ। त्यसको लागि उहाँहरुसँग युवा पनि आउनुपर्छ । कांग्रेस महाधिवेशन लगत्तै स्थानीय, प्रदेश र संघीय निर्वाचन आउँदै छ ।

त्यसमा नेपाली कांग्रेसलाई देशैभर जिताउन युवाले सशक्त भूमिका खेल्नुपर्ने हुन्छ। युवाहरु राजनीतिसँगै सीपमुलक र उद्यमी हुनुपर्छ। त्यसको लागि हामी देशैभरका युवा साथीहरुलाई सुझाउने छौं । अहिले रोजगारीका लागि धेरै युवा साथीहरु विदेसिनुपरेको छ । उहाँहरुलाई सीप र क्षमताको विकास गराइ स्वरोजगारमुखी बन्न अभिप्रेरित गर्ने छु ।

कांग्रेसमा क्रियाशील सदस्यता विवादमा किन भयो जस्तो लाग्छ ?
नेपाली कांग्रेस डेमोक्रेसीको सागर हो। सागरमा धेरै नदी, खोला, झरना र मूलको संगम हुन्छ। यहाँ विभिन्न जातजाति, वर्ग, समुदायहरुलाई समेट्नुपर्ने छ। त्यसमा जनजाति, दलित, उत्पीडित, अल्पसंख्यक, मधेसी, मुस्लिम, थारुलगायत तमाम जाति, वर्ग, समुदायलाई समेट्नुपर्ने भएकाले पनि केही जिल्लामा विवादहरु आएका छन्। ठूलो परिवार भएपछि अलिअलि विवाद स्वभाविक हो । फेरि हामी स्थानीय, प्रदेश र संघीय निर्वाचनको संघारमा आइपुगेका छौं। त्यसलाई मध्येनजर गरेर सबै वर्ग, समुदायलाई पार्टीमा समेटेर लानुपर्ने छ। त्यो भएर पनि केही ढिलासुस्ती भएको हुन सक्छ।

केन्द्रीय प्रतिनिधिमा तपाईं कम उमेरको मान्छे चुनाव जित्नुहुन्छ त ?
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो उम्मेदवारी परिवर्तनका लागि हो । अहिले राजनीतिमा युवाहरुले परिवर्तन चाहेका छन् । दैलेखको दुल्लु नगरपालिकामा १९ वर्षीया स्वस्तिका महत वडा अध्यक्ष चुनिनु भएको छ । १९ वर्षीय स्वस्तिका बहिनी कांग्रेसको वडा सभापति भइरहँदा मलाई मेरो पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन उमेर पुगेको लाग्छ । त्यसैले राजनीतिमा उमेर भन्दा निष्ठा, विचार सक्रियता र लगावमा भरपर्छ । यी कुरामा म परिपक्व उम्मेदवार हुँ भन्ने लाग्छ ।

अहिले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढेको हो ?
हो, वास्तवमा पछिल्लो समय नेपाली कांग्रेसमा जनआकर्षण ह्वात्तै बढेको छ । त्यसमा धेरै युवा साथीहरु आकर्षित हुनुभएको छ । अन्य पार्टी परित्याग गरेर आउने संख्या पनि ठूलो छ । अहिलेको अवस्थामा नेपाली कांग्रेसप्रति आकर्षण बढ्नु स्वाभाविक हो। देशलाई अप्ठ्यारो परेको बेला कांग्रेसले अभिभावकको भूमिका निर्वाह गर्दै आएको छ।

त्यो चाहे माओवादी द्वन्द्वबाट मुलुकलाई शान्ति प्रक्रियामा ल्याउँदा होस् अथवा संविधान निर्माण र घोषणा गर्दा होस्। ती कामहरु नेपाली कांग्रेसको नेतृत्वमा सफल भए । संविधान निर्माणपछि देशमा कम्युनिस्ट सरकार बन्यो । त्यसबेला जनताले धेरै दुःख र हन्डर खेप्नुप¥यो। उनीहरुको दुई तिहाई हाराहारीको बहुमत थियो । तर, उनीहरुले जनचाहना अनुसार काम गर्न सकेनन् । सरकार पनि पुरा समय चलाउन सकेनन्। घुमिफिरी कांग्रेसकै नेतृत्वमा देश आइपुपुग्यो । त्यसकारण कांग्रेसप्रति आकर्षण बढेको हो ।

कांग्रेसमा युवाको कुरा उठिरहँदा अग्रजकै बाटो अवलम्बन गरेको देखिन्छ नि ?
समय अनुसार परिवर्तन स्वीकार्न नसक्नु अग्रजहरुको कमजोरी देखिन्छ । उहाँहरु हिजो निरंकुश राणा शासन अथा एकदलीय पञ्चायती शासनसँग जसरी लडेर आउनुभयो । आज पनि त्यही योगदान र सोच रुमलिई रहनुभएको छ । उहाँहरुले एक्कासौं शताब्दीका युवाको सोच, विचार र परिस्थिति बुझेर परिवर्तन हुन जरुरी छ ।

त्यसको लागि पार्टीलाई युवाको भावना अनुसार स्वस्थ प्रतिस्पर्धामा लागनुपर्छ । उहाँहरुले ‘म पहिला लडभीड गरेको सिनियर नेता हुँ’ भनेर पार्टीलाई पुरानो सोच र शैलीमा कब्जा गर्न खोज्नुहुँदैन । पार्टीमा नेतृत्वको सोच, चाहना र विचारसँग सहमत हुनेलाई मात्रै प्रवेश दिने घेराबन्दी बाउन्ड्री बनाउनुभएको छ ।

त्यस्तो बाउन्ड्री हामीजस्ता युवाले तोड्नु छ । त्यो तोड्नलाई उच्छृंखल तरिकाले होइन । उहाँहरुमा अब युवालाई ल्याउने पनि हाम्रो दायित्व हो भन्ने भावना जागृत गराएर प्रतिस्पर्धाबाट तोड्नुपर्छ । युवाहरुले नेतृत्व लिँदै गर्दा पुराना पुस्तालाई पनि लिएर जानुपर्छ ।

तपाईं प्रनिनिधि भएर युवाहरुको लागि कस्तो भूमिका निर्वाह गर्नुहुृन्छ ?
म केन्द्रीय प्रतिनिधि निर्वाचित भएँ भने युवाहरुको चाहना, भावअनुसारको नेतृत्वलाई जिताउने भूमिका रहने छ । पार्टीभित्र अहिलेका परिवर्तनकारी युवाहरुको भावना समेटन् प्रयत्न गर्ने छु । रोजगारीका लागि विदेश पलायन युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रयास गर्नेछु । त्यसको लागि युवाहरुमा राजनीतिसँगै आत्मनिर्भर हुन सीपयुक्त उद्यमशीलतामा जोड दिइने छ । पार्टीभित्र नयाँ सोच, विचारको विकास लागि प्रयास गर्ने छु ।

देशभरबाट प्रतिनिधि भएर आउने युवालाई के भन्न चाहनुहुन्छ ?
उहाँहरुलाई केन्द्रीय नेतृत्व चयन गर्दा कुनै गुटउपगुटबाट प्रभावित नभइ स्वविवेक प्रयोग गर्नुहोला । परिवर्तनकारी नेतृत्व चयनका लागि मतको उपयोग गर्नुहोला । त्यसको लागि ‘सक्षम, सबल र सशक्त कांग्रेसका लागि युवा नेतृत्व’ भन्ने मूल नारालाई अंगिकार अगाडि बढ्नुपर्छ । मेरो भूमिका आउँदा पुस्तामा पनि कांग्रेसप्रति मोह र आकर्षण बढाउनेमा हुने छ । साथीहरुले पनि त्यो कुरा बिर्सिनुहुँदैन ।

कम उमेरका प्रतिनिधि भाइ, बहिनीलाई के भन्नुहुन्छ ?
सर्वप्रथम त म युवा साथीहरुलाई शुभकामना दिन चाहन्छु । कांग्रेसभित्र आगामी नेतृत्वमा भ्रष्टाचारी, पार्टीको विधान बिपरित गएर काम गर्नेहरु र व्यक्तिगत स्वार्थको लागि पार्टीलाई घात गर्नेलाई यो अधिवेशनबाट पाखा लगानुपर्छ । निस्वार्थ ढंगले पार्टी हाँक्ने सवल, सक्षम र योग्य व्यक्ति छानौं भन्न चाहन्छु । त्यो नेतृत्व परिवर्तनकारी युवाहरुको भावना, चाहना समेट्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।

कसको प्रेरणाले राजनीतिमा आकर्षित हुनुभयो ?

राजनीतिमा म बुबा, आमा र दाइको प्रेरणाले आएकी हुँ । कुनै पनि व्यक्तिको सफलता उसको पारिवारिक वातावरण जोडिएको हुन्छ । मलाई राजनीतिमा सफल हुन मेरो परिवारबाट एकदमै राम्रो साथ, सहयोग र समर्थन रहेको छ । मलाई राजनीतिमा परिवारबाट कुनै वाधा, अड्चन छैन । म यहाँसम्म आइपुग्न परिवारको एकदमै ठूलो हात छ ।