नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्षमा डा. पन्त चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा डा कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार आयोजना गरिएको कार्यक्रमा संयुक्त बैठक एवं कमिटी रुपान्तरण पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने, सचिवमा कुलप्रसाद लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्यलाई चयन गरेको हो। अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने छ। त्यसैगरी कार्यक्रमले समाजवादीको भरतपुर महानगरपालिका कमिटीसमेत गठन गरेको छ । महानगर कमिटीको अध्यक्षमा विष्णुराज महतो, उपाध्यक्ष केशवराज पोख्रेल, सहसचिवमा शोभा पण्डितलाई चयन गरेको हो । महानगर समिति १६८ सदस्यिय रहने सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले निर्वाचन चुनाव चिन्हले जित्ने नभई जनताको मनले जित्न सकिनेमा जोड दिए ।

मनाङको निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद
काठमाडौं । सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गर्ने प्रक्रिया बढेको छ । त्यसको असर मनाङ जिल्लामा परेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद चुलिएको हो । प्रमुख प्रशासकीय अधिृकत सरुवा भएपछि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि पदीय हिसाबबाट निमित्त प्रमुख प्रशासकीयको रूपमा कार्य तथा हाजिरी गराइएको भए पनि गाउँपालिकामा विवाद भएको छ । निवर्तमान अधिकृत दीपक ढकाल सरुवा भएर जानु भएपछि आएका निमित्त प्रशासकीय अधिकृत विवादमा मुछिएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ २० मा अधिकृतस्तर छैटौँ तहका जनस्वास्थ्य निरीक्षक नारायण यादवलाई जिम्मेवारी सुम्पेको पत्र पठाएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म सम्पूर्ण आर्थिक र प्रशासनिक जिम्मेवारी यादवलाई सुम्पिएको छ । प्राविधिकलाई प्रशासनको जिम्मेवारी दिएको भन्दै गाउँपालिकाका जनप्रतिनिधि र अन्य फाँटका कर्मचारी नै असन्तुष्ट भएका छन् । ढकाल सरुवा हुने भएपछि गाउँपालिका अध्यक्ष कान्छा घलेको अध्यक्षतामा बैठक बसी यादवलाई जिम्मेवारी दिन मन्त्रालयमा पत्र पठाइएको थियो । उक्त बैठकको माइन्युट नै फर्जी रहेको वडा नं ५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङ बताउँछन् । सधैँ उठाउने माइन्युटमा नै नभएको निर्णयमा घरघरै गएर हस्ताक्षर गरेर मन्त्रालय पठाइएको उहाँले आरोप लगाए । उक्त निर्णयमा निवर्तमान प्रशासकीय अधिकृत ढकालसहित गाउँपालिका उपाध्यक्ष, पाँच वडाध्यक्ष र एक कार्यपालिका सदस्यले हस्ताक्षर गर्नुभएको छैन । यसले झनै मिलेमतोमा निमित्त अधिकृत नियुक्त गरिएको खुलासा भएको जनप्रतिनिधिले आरोप लगाएका छन् । स्वास्थ्य क्षेत्र (प्राविधिक शाखा)मा कार्यरत कर्मचारी प्रशासन शाखामा नियुक्त हुँदा पालिकाको काममा असर पर्ने भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । लामो समयदेखि प्रशासन शाखामै उहाँभन्दा लामो समयदेखि कार्यरत कर्मचारीलाई नजरअन्दाज गरेर उहाँलाई नियुक्त गरिनु उपयुक्त नभएको कर्मचारीको भनाइ छ । अध्यक्ष घलेले दुवै जनाको नाम सिफारिस गरेर मन्त्रालयमा पठाएको बताए । तीमध्ये यादवलाई मन्त्रालयले जिम्मेवारी सुम्पिने गरी पत्र पठाएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले चिठ्ठी पठाएपछि अब पौडेलको निमित्त प्रशासकीय अधिकृतको बाटो रोकिएको उनको भनाइ छ ।