नेपाली साहित्यमा भानुभक्तको अविस्मरणीय योगदान

0
721

– रुबिना गौतम

नेपाली साहित्यको जग बसाउने अर्थात प्राथमिक कालका विशिष्ट प्रतिभा भानुभक्त आचार्यको पिता धनन्जय आचार्य र माता धर्मावतीदेवी आचार्यका पुत्रको रुपमा गण्डकी अञ्चल तनहुको रम्घामा वि.सं. १८७१ असार २९ गते एवं आजको मितिमा भएको थियो । नेपाली साहित्यको क्षितिजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भानुभक्तले नेपाली जगतमा एकैपल्ट भाषा,साहित्य, धर्म, दर्शन, परम्परा, मर्यादा, मातृत्व, कर्तव्य जस्ता समग्र बिषयको समन्वय एवं समष्टिगत भाव प्रदान गरेर आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान प्राप्त गर्न सफल भए । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । नेपाली जातिय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनका लागि भानुभक्तको ऐतिहासिक योगदान रहेको छ ।

जसरी पृथ्वीनारायण शाहले टुक्रिएको राज्यलाई एकिकरण गरेर विशाल राष्ट्र बनाए त्यसरी ने कवि भानुभक्तले छरिएर रहेका नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकिकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसार भरिका नेपाली भाषीहरुबीच भाषिक एकता कायम हुन सकेको हो । आधुनिक नेपाली भाषाको जति विकास भएको भए पनि सुरुमा नेपाली अक्षर चिनाउने र नेपाली भाषाको वाणीमा पहिलो प्राण भर्ने काम भानुभक्तले नै गरेका थिए । साहित्यका माध्यमबाट लोकहित गर्दै सहज रुपमा समाज सुधारको सुरिलो स्वर सुसेल्दै आफ्ना भावना पस्किएका भानुभक्तले नेपाली साहित्यलाई साहित्यका माध्यमबाट समस्त जनताको हृदयलाई स्पर्श गरेका छन् । अयोध्याका राजा रामको जीवनीलाई रामायण मार्फत सरल नेपाली भाषामा अनुवाद गरेर नेपाली जनतामा ठूलो गुन लगाएका छन् ।

प्रश्नोत्तर, भक्तमाला, रामायण, बधुशिक्षा, रामगीता आदि जस्ता उत्कृष्ट कृति पस्किएर नेपाली साहित्यको ढुकुटी भरेका भानुभक्त आचार्य वि.सं १९२५ असोज ६ गतेका दिन माटोमा मिलिए पनि उनले साहित्य क्षेत्रमा पुर्याएको योगदानका कारण सदैव हामी माझमा अमर नै रहनेछन् । उनी यस संसारमा नभए पनि उनले नेपाली भाषाप्रति अगाध माया अपूर्व सेवा गरे बापत नेपाली साहित्य जगतमा उनले पुर्याएको अतुलनीय वा अविस्मरणीय योगदानलाई हामीले कहिले पनि भुल्नु हुँदैन ।

रामायण बालकाण्डमा समावेश उनको कवितांश
एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौ हित् भनि
ब्रम्ह्ना ताहि थिया पर्या चरणमा खुसि गराया पनि
क्या सोध्छौ तिमी सोध भन्छु म भनि मर्जि भयेथ्यो जसै
ब्रम्ह्नाको करुणा बुझेर ऋषिले बिन्ति गर्या यो तसै ।
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रयाछु कछु
बाकि छइन केही तथापि सुन्न इच्छया म यो गर्दछु
आउ लाज भयो कलि बखतमा प्राणी दुराचार भइ
गर्न्याछन सब पाप् अनेक तरहका निज्का मतिमा गई ।
साच्चो कुरा गरोइनन् अरुकोइ गर्नन् त निन्दा पनि
अर्कको धन खानलाई अभिलाष् गर्नन् त दियो भनि
कोहि जन् परस्त्रिमा रतहुनन् कोही त हिम्सा महा
देहलाई त आत्मा जानी रहलान् नास्तिक पसु झहि तहाँ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here