पत्रकार चौहानको निधन

काठमाडौं । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको गए राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो ।

चौहानलाई तीन दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । चौहानको अवस्था गम्भीर देखिएपछि मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासङ्घले जनाएको छ । चौहान नेपाल पत्रकार महासङ्घका पूर्वकार्यसमिति सदस्य थिए ।

दुई दशकदेखि पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी छन् । चौहानको निधनप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ ।