बाढीपहिरो पीडित परिवारलाई सहयोग प्रदान

काठमाडांै। रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो पीडित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन्। ताराखोला समाज जापानमार्फत संकलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई प्रदान गरिएको हो ।

राहत रकम बुझ्नेमा वडा नं १ का दुई, २ का ११, ३ का १४, ४ का दुई र वडा नं ५ का पाँच परिवार छन् । एउटा परिवारलाई न्यूनतम रु पाँच हजारदेखि बढीमा रु एक लाख २० हजारसम्म राहत सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ। स्थानीयस्तरमा गठित ताराखोला समाजद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतले संयुक्तरूपमा राहत रकम प्रदान गरेका थिए।

उक्त समितिका सचिव गणेश कार्कीका अनुसार समाजले वडा नं ३ मा रहेको हिल स्वास्थ्यचौकीका लागि रु आठ लाख बराबरका भिडियो एक्स–रे, एनालाइजरलगायत स्वास्थ्य उपकरण÷सामग्रीसमेत प्रदान गरेको छ ।

समाजले यसअघि गाउँपालिकाको विपद् कोषमा रु १४ लाख जम्मा गरेको थियो। गाउँपालिका अध्यक्ष घर्तीले प्रवासी नेपालीले आफ्नो गाउँको लागि निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

समाजले गाउँपालिकामा हुने विपद्का घटनादेखि विकास निर्माणका अभियानमा सहकार्य गर्दै आएको स्मरण गरे । ताराखोलासँगै गलकोट, लेखानी समाज जापानलगायत प्रवासी नेपालीले खोलेका संघसंस्था मानवीय सेवाका काममा सक्रिय छन् ।