भरतपुरमा विवादका कारण च्यातिएका मतपत्र सर्वाेच्च पठाइयो

0
417

चितवन, असार १३ । दोश्रो स्थानीय तहको निर्वाचनमा भएको भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेका कागजपत्र र ९० वटा च्यातिएका मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले काठमाडाँै पठाएका छन् । उक्त मतमत्रलाई मतपेटिकामा राखेर सिल गरी पठाइएको छ ।

मुख्य निर्वाचन अधिकृत कविलप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायब निरीक्षक गोविन्द श्रेष्ठ मतपत्र लिएर काठमाडौँ गएका छन् । बुद्ध एअरको विमानबाट उनीहरु बिहान ८ः१५ बजे मतपत्रका साथमा काठमाडौँ गएका हुन् । उक्त मतपत्रलाई आजै सर्वाेच्च अदालतमा बुझाउने गरी काठमाडौं लगिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाेच्चले माग गरेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि सो टोलीसँगै पठाएको छ ।

सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन असार ६ गते मङ्गलबार दिएको आदेशलाई कार्यान्वयन गर्दै मतपत्र काठमाडौं लगिएको हो । कायममुकायम प्रधानन्याधीश गोपालप्रसाद पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको थियो । फैसलाको भोलिपल्ट मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र आएकाले पत्र पाएको सातौँ दिन आज कागजपत्र र मतपत्र पठाइएको हो ।

भरतपुर महानगरपालिका–९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वाेच्चसम्म पुगेको हो । महानगरका २९ वटामध्ये २७ वटाको गणना सम्पन्न भएको छ भने १९ को अन्योलमा रहेको छ । यसरी मतगणना स्थलमा भएको विवादका कारण रोकिएको वडा नं २० को मतगणना गर्न बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here