मेलम्ची आयोजना : स्थानीयवासीको आफ्नै पीडा

0
477

मेलम्ची, । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको लागि पिडादायी बन्न पुगेको छ । आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट निकालिएको माटोढुङ्गालाई जथाभावी खोलामा फाल्न थालिएपछि स्थानीय स्तरमा त्रास बढ्दै गएको छ । सुरुङबाट निस्किएको माटोढुङ्गा (मकिङ) ठेकेदार कम्पनी सिएमसीले जथाभावी खोलामा फाल्दा बर्षाको समयमा जोखिमपूर्ण हुने स्थानीयको ठहर छ। यसरी मकिङ खोलामा फाल्न थालेपछि त्यस वरपरका बासिन्दा बर्खामा खोला थुनिएर आफ्नो गाउँ बगाउला कि भन्ने चिन्तामा परेका छन् । स्थानीयवासी आशा गुरुङले सुरुङबाट निस्किएको माटोढुङ्गाको थुप्रोले घरै पुरिने खतरा रहेको बताउँछिन् । सुरुङ निर्माणको काम छिटोे सक्ने बहानामा ठेकेदार कम्पनी सिएमसीले अव्यवस्थित रुपमा खोलाको मध्य भागसम्म पुग्नेगरी माटोढुङ्गाको पहाड बनाएर थुपारेको छ । यसरी बनेको पहाडमा बर्खामा आउने बाढीले खोला थुनिए किउल, ग्याल्थुम, तालामाराङ र मेलम्चीका स्थानीयवासीलाई प्रभावित गर्नेछ । आयोजनाका कारण घरमै पुरिएर मरिने भन्ने त्रास रहेको स्थानीयवासी निमा लामा शेर्पा बताउँछिन् ।
सुरुङ निर्माणस्थलबाट निस्केका माटोढुङ्गाको उचित व्यवस्थापनको विषयमा स्थानीयस्तरबाट पनि आवाज उठेका छन् तर हेलम्बु गाउँपालिका–१ को वडाध्यक्षमा नवनिर्वाचित मिङमार लामा सहितको टोलीलाई आयोजनाले सुङङभित्र जान दिएको थिएन । स्थानीयवासीलाई आयोजनाका कारण उत्पन्न त्रास हटाउन ठेकेदार पक्ष गम्भीर हुनुपर्ने वडाध्यक्ष लामाको भनाइ छ । त्यसका लागि सबै एकजुट भएर लाग्न आवश्यक रहेको लामा बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here