मौसमअनुसार पहिरन र मेकअप परिवर्तन हुन्छ

गीता शाह, वरिष्ठ मेकअप आर्टिस्ट
असोज महिना लागिसक्दा पनि वर्षाको मौसम सकिएको छैन । हिन्दू धर्मावलम्वीहरूको महान चाड दशैं पनि तपाईं–हाम्रो संघारमा आइसकेको छ । यसले सबैलाई व्यस्त बनाएको छ । कोरोना महामारीका कारण धेर–थोर सजकता अपनाएर भए पनि मन्दिरदेखि शहर–बजारसम्म मानिसहरूको भीड बढेको छ । र त युवती तथा नारीलाई राम्री देखिने चिन्ताले सताएको छ । यस्तो वर्षाबीच आएको चार्डपर्वमा कस्तो प्रकारको मेकअप उपयुक्त हुन्छ त ? प्रस्तुत छ– यस विषयमा वरिष्ठ मेकअप आर्टिस्ट तथा प्रशिक्षिका गीता शाहसँग कालिका महतले गर्नुभएको कुराकानीः

वर्षायामबीचको चार्डपर्वमा कस्तो प्रकारको मेकअप गर्दा ठीक हुन्छ ?
एक त हामी अहिले पनि कोरोना संक्रमणकै त्रासमा छौं । यस्तो अवस्थामा जस्तो पायो त्यस्तै र भिडभाड हुने स्थानमा गएर मेकअप गर्नु उपयुक्त हुँदैन । अर्को लगातार वर्षा भइरहेको छ । वर्षाको समयमा त्यहीअनुसारको मेकअप नगर्ने हो भने त्यो प्रभावहिन हुन जान्छ ।

फेरि चाडपर्वको निकट भएकाले मौसमलाई ख्याल गरेर मेकअप गर्नुपर्ने हुन्छ । यस्तोमा प्राकृतिक तथा ग्लोइङ फ्रेस मेकअप गर्नुपर्छ । अहिलेको सिजनमा यही मेकअप लोकप्रिय समेत भईरहेको छ । यस्तो मेकअपले हरेक प्रकारका छालालाई आकर्षक देखाउन सहयोग पु¥याउँछ । हामीलाई प्रकृतिले नै छाला, आँखा, चिउडो, ओठ जस्ता सुन्दर अंगहरु प्रदान गरेको छ । अहिलेको बेला यी अंगमा हल्का मेकअप गर्दा उपयुक्त हुन्छ ।

अहिलेको मौसममा कस्तो अनुहारमा कस्तो प्रकारको मेकअप ठीक हुन्छ ?
जहाँसम्म आपूmलाई सुन्दर बनाउने कुरा छ, हरेक प्रकारका मेकअपले हरेकलाई सुन्दर बनाउदैन । बरु मेकअप नमिल्दा झन विरुप बनाउँछ । छालाको प्राकृतिक रंगसँग मिल्ने हल्का मेकअप प्रायः सबैलाई सुहाउँछ । आँखामा न्यूट्रोल टोन उत्कृष्ट देखिन्छ । कम उमेरका किशोरी तथा बृद्धाहरूलाई यस्ता मेकअप सुहाउँछ भने टिनएजर्स युवतीहरूले त आफ्नो रोजाईका रंग प्रयोग गर्दै मेकअप गर्न सक्छन् ।

वर्षायाममा मेकअप गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ ?
एउटा राम्रो मेकअप गर्नुभन्दा पहिला छालाको सुरक्षा महत्वपूर्ण पक्ष हो । वास्तवमा मेकअप गर्ने क्रममा फाउण्डेसन लगाउनुभन्दा पहिला प्राइमर लगाउनुपर्छ । यसो गर्दा मेकअप लामो समयसम्म टिक्ने मात्र होइन, त्यसले छालालाई पनि सुरक्षित बनाउँछ । पसिना, आद्रता तथा लामो समयसम्म मेकअप बचाउन मेकअप सेटिङ–स्प्रे हुनु अनिवार्य छ ।

मौसमले मेकअपमा कुनै असर गर्छ कि गर्दैन ?
हामीले फलो गर्ने फेसन ट्रण्ड तथा लगाउने पहिरनले मेकअप ट्रेण्डलाई पनि प्रभाव पारिरहेको हुन्छ । जसरी मौसम अनुसार पहिरनको फेसन तथा पहिरनको छनोट पनि परिवर्तन हुन्छ, ठीक त्यसैगरी मेकअप गर्ने शैली पनि मौसम अनुसार फरक–फरक हुन्छ ।

मौसमले अवश्य पनि हाम्रो छालाको बनावटलाई प्रभाव पार्छ । जस्तो जाडो मौसममा अधिकांश व्यक्तिको छाला सुख्खा हुने अथवा फुट्ने समस्या उत्पन्न हुन्छ भने गर्मी मौसममा छाला तैलीय हुने सम्भावना रहन्छ । त्यसैले हामी गर्मीका लागि मेट फाउण्डेसन सिफारिस गर्छौंं । जाडो मौसममाचाहिँ हाइड्रेटिङ डिउ फाउण्डेसन लगाउने सिफारिस गर्छौं ।

मेकअपमा ब्राण्डले कस्तो असर गर्छ ?
अहिले नक्कली चिनियाँ मेकअप ब्राण्डहरु बजारभरी उपलब्ध छन् । तिनीहरुले नेपालको मेकअप बजारलाई कब्जा गरिरहेका छन् । तर, मानिसहरुले के बुझ्नु अनिवार्य छ भने मेकअपका उच्च ब्राण्डहरुलाई हामीले विश्वास गर्नुपर्छ । किनभने उच्च ब्राण्डहरुले ती उत्पादनहरुलाई तयार पार्नका लागि धेरै समय खर्चिएका हुन्छन्, विभिन्न प्रकारका परिक्षणहरु गरेका हुन्छन् र ती प्रशाधनहरूले हाम्रो छालाको सुरक्षाको लागि समेत विभिन्न सचेतनाहरु अपनाएका हुन्छन् ।

तर, नक्कली तथा सस्ता सौन्दर्य प्रशाधनहरूमा भने हानिकारक रसायनहरुको प्रयोग अत्यधिक मात्रामा गरिएको हुन्छ । जसले हाम्रो छालाको प्राकृतिक गुणलाई नै नष्ट पारिदिन्छ । यतिमात्र होइन, नक्कली सौन्दर्य प्रशाधनले छालालाई बाहिरी रुपमा पनि निकै हानि पु¥याइरहेको हुन्छ । त्यसैले केही महंगो पर्ने भएपनि हामी उच्च ब्राण्डका सौन्दर्य प्रशाधनहरू मात्रै प्रयोग गर्न सल्लाह दिन्छौं ।

यस्तो बेला हेयर स्टाइल गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
जब हेयर स्टाइलिङको प्रसंग आउछ, हामीले के बुझ्नु अनिवार्य छ भने एउटा स्वस्थ केश आफैंमा एउटा स्टाइल हुन्छ । केशमा विभिन्न प्रकारका रंगहरुको प्रयोग गरेर तपाईंले आफ्नो व्यक्तित्वलाई उच्च बनाउन सक्नुहुनेछ ।

तर, रंगहरुको अत्यधिक प्रयोग पनि केशका लागि हानिकारक हुन्छ । ट्रेण्डङमा भएका केही स्टाइलहरू उपयुक्त छन् अथवा ती स्टाइलहरु फलो गर्दा सुन्दर नै देखिन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । त्यसैले हेयर स्टाइलिङ गर्नुअघि त्यसको नमुना हेर्नु अनिवार्य रहन्छ । अनुहारको बनावट, छालाको बनावट अनुसार उपयुक्त हेयर स्टाइलका बारेमा निर्णय गर्नुपर्छ ।

पछिल्लो समय कस्तो प्रकारको हेयर स्टाइल तथा कलर चलेको छ ?
यतिबेला फेसनमा दुई प्रकारका हेयर स्टाइल ट्रेन्डिङमा छन्, पहिलो ‘सर्ट–एजी हेयरकट्स’ तथा दोस्रो ‘लङ ग्ल्यामरस हेयर स्टाइल्स विथ सफ्ट टेक्चर ।’ तर, जहाँसम्म केशको रंगको कुरा छ, मानिसहरुले अहिले पनि प्रयोग नै गरिरहेका छन् । किशोर किशोरीहरुले भने आफूलाई खरानी, नीलो, हरियो, रातो, गुलाबी, सुन्तले आदि रंगमा समेत सजाइरहेका छन् । केशमा कलर गर्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत रुचिको विषय रहँदै आएको छ ।