राजा देख्दैन ढुङ्गो बोल्दैन

0
754
राजेन्द्र प्रसाद पाठक । लेखक आर्यावत (भारतवर्ष ) युवा समाज नेपालका अध्यक्ष हुन् ।

– राजेन्द्रप्रसाद पाठक

यो हाल सम्म लोप भै सक्नु पर्ने तर त्यसो हुन नसकीरहेको प्रचलित नेपाली लोक उखान सर्वप्रथम म सानै छँदा मेरी स्व. हजुरदिदीको मुखारविन्दबाट सुनेको थिएँ । त्यती बेला लाग्दथ्यो कि हाम्रा देशका राजा आँखा नदेख्ने अन्धा रहेछन् । उखानको पछिल्लो टुक्रा ढुङ्गो के पाएर बाल्दथ्यो । मुर्ति बनाएर पुजा गरे पवित्र नत्र खोला वालुवा र पहाडको भित्र भित्र रहनेले के को बालोस् । मेरी हजुरदिदीको स्वर्गवास भएको पनि चौंतिस बर्ष भै सकेछ । त्यती बेलाका हामी जस्ताले केको बुझ्नु बल्ल पो बुझ्दैछौं । उहाँ अत्यन्त शिक्षाप्रमी हुनुहुन्थ्यो । बि.सं. १९४८ सालताका , आज भन्दा १२६ बर्ष अगाडी जन्मिएर त्यतीबेलाको महिला भएर पनि हाम्रो जस्तो समाजमा शिक्षाप्रतिको लगाव र प्रेम हुनु आफैमा खोजपूर्ण बिषय हो । आज सम्म नेपाली समाजमा छोरीलाई पढाउनु पर्दछ भन्ने चेतना भर्दैछन् हाम्रा गैर सरकारी , सरकारी संस्थाहरु ।

माथी उल्लेखित उखान सुनाउने र ब्याख्या गर्ने लगायतका अन्य बिबीध त्यसताकाका अन्य चुनौतिपूर्ण शब्दहरुलाई सामाजिक परिबेशमा अभ्यस्त गराउन सक्ने शसक्त महिला भएकै कारण उहाँभित्र क्रान्तिकारी जोश भरिएको रहेछ । राजा तथा त्यति बेलाका शासक प्रशासकहरुमा संसार देख्ने छालाका आँखा नभएको होईन रहेछ । सिर्फ जनताको दुःख दर्द र अभाव प्रभाव हेर्न नसक्ने , नचाहने विलासी शोषक राजा र उनको प्रसाशनलाई गरिएको ब्यङ्ग्य पो रहेछ । जनप्रतिनीधी मूलक शासन ब्याबस्थाकी पक्षधर र प्रसंशक पो रहिछिन् हाम्री फूपु त । राजाद्वारा गरीने प्रत्यक्ष शासन ब्याबस्थाले जनस्तर सम्मको पिर मर्कालाई बुझ्न कठिन हुन्छ जसरी ढुङ्गालाई बोल्न सकस भएको होस् । त्यसैले राजाको देखाईलाई ढुङ्गाको बालाई सँग तुलना गरिएको रहेछ । आजको राजनैतिक परीबेश राजाको देखाई तथा ढुङ्गाको बालाई सँग तुलना गर्ने किसीमको नभएता पनि शासकहरुको ब्याबहार र प्रबृतिमा भने परिबर्तन नआएकै कारण आज सम्म यो प्रचलित नेपाली उखान जीवन्त बनी रहन सकेको छ । सन्दर्भ हाम्रै सामाजिक राजनैतिक परिबेशलाई नै हेरौं न । न त राजनेता भनौदाहरुले जनताका पिडालार्ई आफ्नो पिडा महसुस गरेका छन् । न त ढुङ्गाको मुर्तीले जतिनै पूजा आराधना गरेता पनि जुरुक्क उठेर उपासकलाई तथास्तुको वरदान नै दिएका छन् । यसो भन्दै गर्दा लेखक शासक , उपासक , र आराध्य संस्कृतीको बिरोधी भने कदापी होईन । जनभावनालाई शासक, प्रशासक र उपासकहरुले अपेक्षित अबसर र सम्मान दिनमा भने खड्कीएको गरेका छन् । सबै तह र तप्काका शासन प्रणालीमा जनताको प्रत्यक्ष सहभागीता रहने प्रणालीलाई हाम्रो संविधानले समेत स्वीकार गर्न सकिरहेको छैन ।

जनसहभागिताको नाममा भोट दिने सामान्य प्रणालीलाई अंङ्गीकार गरिएता पनि चुनिएका जनप्रतिनिधीहरुको समयाबधी , उसको कार्य दक्षता र प्रभावकारीता शुन्य भएको खण्डमा फिर्ता गर्न सकिने सम्मको प्रणालीको बिकाश गर्न सकिएको खण्डमा जनप्रतिनीधीहरु नाम मात्रका नभएर शास्वत र सक्षम हुने थिए । त्यसो हुन सकेमा मात्र आफ्नो क्षेत्रमा मात्र प्रभाव जमाउने र क्षेत्रियतावादी सोच र धारणा भएकाहरु समेत राष्ट्रिय स्तरका नेता बन्न सक्ने थिए । अहिले जस्तो एउटा मात्र निर्वाचन क्षेत्र कब्जा गरेर विभिन्न प्रभावमा आफूलाई जनप्रतिनिधी सावित गर्न खोज्ने भुरे टाकुरे राजा रजौटाको जस्तो स्वाभाव अलि फैलिएर पूर्ण राष्ट्रिय रुपमा नफैलिएता पनि अलिक विकसित हुने थियो कि ? हालका जनप्रतिनिधी भनौदाहरु आफ्नो निर्वाचन क्षेत्र बाहेक अन्यमा आफूलाई बिस्तार गर्न नसक्ने र नचाहने समेत हुनुमा प्रणाली माथिनै प्रश्न चिन्ह खडा भएको छ । एक पटक एउटा जिल्लाको निर्वाचन क्षेत्रबाट चुनावमा खडा भएकालाई अर्कौ पटक पुःन भाग लिने इच्छा राखेमा अर्को जिल्लाको अर्कै क्षेत्रबाट मात्र चुनावमा भाग लिन पाउने ऐन नियम संविधानमै राख्न सकिएको खण्डमा भुरे टाकुरे राजा रजौटागत् प्रबृतीमा कमी आई राष्ट्रिय स्तरको नेता बन्ने र बनाउने अबसर समेत निर्माण हुने थियो । त्यस पछि मात्र राजा अथवा शासकका वास्तवीक होस् खुल्ने थियो । ढुङ्गो समेत बोल्न बाध्य हुने थियो की ? अन्यथा क्षेत्रिय राजा रजौटाको विकाश क्रम झन् झन् बढेर जाने सुनिश्चीत छ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here