विद्यार्थीले आफ्ना माग राख्दै बसेको अनशन सहमति पछि तोडे

0
1071

राजविराज, असार २८ । शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधानका लागि रिले अनशन बसेका विद्यार्थीहरुले सहमति पछि अनशन तोडेका छन् । उनीहरुको माग पुरा गरिने भएपछि गर्दै आएको रिले अनशन आज तोडिएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवा, शिक्षा अधिकारी डोलराज पाण्डे, राष्ट्रिय अनुसन्धान प्रमुख देवराज लिम्बू तथा स्थानीय सञ्चारकर्मीको उपस्थितिमा विद्यार्थीले उठाएको माग सम्बन्धमा पूरा गराउने सहमति भएपछि चार दिनदेखि जारी राखेको रिले अनशन आजबाट तोडेका हुन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी कटुवाले अनशनरत विद्यार्थीहरुलाई जुस खुवाएर अनशन तोडाएका छन् । सप्तरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गदै राजविराजस्थित गजेन्द्र चोकमा विगत चार दिनदेखि विद्यार्थीले रिले अनशनमा बस्दै आएका थिए ।

कुनै पनि बन्द, हडतालमा विद्यालय एक दिनको लागि भएपनि बन्द नहुने गरी पूर्णरुपमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, देशभरिकै शिक्षकको शैक्षिक प्रमाण चेकजाँच हुनुपर्ने र नक्कली पाएमा सख्त कारबाही गर्नुपर्ने, कक्षा १२ सम्मको रजिष्ट्रेसन फर्म, परीक्षा फर्म र प्रेक्टिकल फर्म निःशुल्क हुनुपर्ने तथा एक कक्षा उत्तीर्ण गरी अर्को कक्षामा जानको लागि पुनः भर्नाको चार्ज नहुनुपर्नेलगायतका चौधबुँदे मागसहित उनीहरु रिले अनशनमा बसेका थिए । त्यस्तै पाठ्यपुस्तक समयमै उपलब्ध गराउनुपर्ने, पाठ्यपुस्तकको मनपरी मूल्य नियन्त्रण गर्नु पर्ने, बन्द हडतालबाट विद्यालयलाई अलग गरेर राख्नुपर्ने, रजिष्ट्रेसन र परीक्षा शुल्क निःशुल्क गरिनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालयसरह सेवा सुविधा उपलब्ध गराउनु पर्नेलगायत माग अगाडी सारेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here