सिरहाका १८ वडामा माओवादी केन्द्र अगाडि

0
1693

लहान, असोज ४ । स्थानीय तहको तेश्रो निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न भएको मतदानको गणना कार्य जारी छ ।

सिरहामा आज बिहानसम्म विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा (माओवादी केन्द्र)ले आठ वडा जितेको छ भने नेकपा (एमाले), संघीय समाजवादी फोरम नेपालले तीन/तीन र नेपाली काँग्रेस र राजपाले दुई÷दुई वडामा जित हासिल गरेका छन् । पछिल्लो परिणामअनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी भएका छन् भने धनगढीमाई नगरपालिका–३ मा पनि माओवादी केन्द्रकै देवन साह प्यानलसहित विजयी भएका छन् । अर्नमा गाउँपालिका–१ मा वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार गफार मियाँ ७२४ मत ल्याएर प्यानलसहित विजयी भएका छन् भने अर्नामा–२ मा माओवादीकै गंगाप्रसाद महतोले ५२३ मतसहित प्यानल जित हासिल गरेका छन् ।

मिर्चैया नगरपालिका–१ मा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मत ल्याई प्यानलसहित विजयी भएको छ भने विष्णुपुर गाउँपालिका–१ मा कोविन्द यादव ५१६ मत ल्याई प्यानलसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जानकारी गराएको छ । यो सँगै माओवादी केन्द्रले सिरहामा आठवटा वडामा विजयी भएको छ । यसअघि माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको वडा नम्बर १ र ३ मा वडाध्यक्ष पदमा जितेको थियो । कर्जन्हा नगरपालिका–१ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मोहनबहादुर खत्री र सोही नगरपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रकै कपलेश्वर यादव विजयी भएका छन् भने सिरहाको नवराजपुर गाउँपालिका–१ मा एमालेका रामअवतार यादव ९३६ मतसहित विजयी भएका छन् । एमाले धनगढीमाई नगरपालिका–१ मा पनि विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार सूर्यनारायण महतो प्यानलसहित विजयी भएका छन् भने कर्जन्हा–२ मा एमालेका गणेशकुमार अधिकारी ४६६ मतसहित विजयी बने । यस्तै, सिरहाको भगवानपुर, औरही र विष्णुपुरको एक÷एक वडामा संघीय समाजवादी फोरम नेपालले जित भएको छ ।

औरही गाउँपालिका–१ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्षका उम्मेदवार सुरतलाल ठाकुर ५४७ मतसहित विजयी भएका छन् भने भगवानपुर गाउँपालिका–१ का संघीय समाजवादी फोरम नेपालकै वडाध्यक्षका उम्मेदवार बद्रीनारायण यादव विजयी बनेको जिल्ला निर्वाचन कार्यालय सिरहाले बताएको छ । विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मा कपिलदेव यादव प्यानलसहित विजयी बनेको छ भने नवराजपुर वडा नम्बर २ मा नेपाली काँग्रेसका खुशीलाल साह २९४ मत प्राप्त गरी प्यानलसहित विजयी भएको छ । यसअघि लहान नगरपालिका–२ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार शियाराम यादव ३४९ मत ल्याएर प्यानलसहित जित हासिल गरेको थियो । सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १ र २ मा राजपाका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । कल्याणपुर नगरपालिका–१ मा ५१२ मतसहित राजपाका वडाध्यक्षका उम्मेदवार विशेश्वर मुखिया र वडा नम्बर २ मा सोही पार्टीका वडाध्यक्षका उम्मेदवार जयराम कामतीले जितेका छन् भने विवादका कारण स्थगित भएको सिरहाको लहान नगरपालिकाको मतगणना कार्य बुधबार बिहानदेखि पुनः सुचारु गरिएको छ ।

निर्वाचन अधिकृत र दलका प्रतिनिधिबीच विवादास्पद वडाका खोलिएका मतपत्रलाई पुनः गणना गर्न सिलबन्दी गर्ने र अरु बाँकी वडाको मतगणना अगाडि बढाउने सहमति भएपछि बिहान ६ बजेदेखि सुरु भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी गराएका छन् । लहान नगरपालिका–३ को मतगणनाको क्रममा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले केही मतको अग्रता लिएपछि संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिले पुनः मतगणनाको माग गर्दै विरोध गरेपछि लहान नगरपालिकाको मतगणना कार्य मंगलबार अवरुद्ध भएको थियो । लहान नगरपालिकाको हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) को अग्रता छ । प्रमुखमा एमाले १०३३, राप्रपा ८७४, नेपाली काँग्रेस ८११, संघीय समाजवादी फोरम नेपालले ७४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here