हकिवका परिवारलाई क्षतिपूर्ति सिफारिस

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीका हिरातमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अध्यक्षमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार सम्पन्न सरोकारवालाको बैठकले सो सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

भोक्राहा नरसिंह गाउँपालिका–५ का मियाँले गत आइतबार आत्महत्या गरेको बताइएको छ । बैठकले हकिवले आत्महत्या गरेका विषयमा छानबिन गर्ने र कोही दोषी देखिए आवश्यक कारबाही गर्ने, घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र सामाजिक सद्भाव कायम गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।

मृतक परिवार र प्रशासनबीच सहमतिपछि पीडित परिवारले शव बुझेका छन् । बैठकमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोसीका अध्यक्ष अयुव अन्सारी, हरिनगरका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका कावा अध्यक्ष पुनमकुमारी मेहता सहभागिता थियो ।