३५औँ बिपी स्मृति विभिन्न कार्यक्रम गरी मनाइदै

0
851

भक्तपुर, साउन ६ । मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३५ औँ स्मृति दिवसको अवसरमा आज नेपाली काँग्रेस र बिभिन्न भातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदै छन् । प्रजातन्त्र सेनानी एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृतिमा आज भक्तपुरमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ ।

बिपी चिन्तन प्रतिष्ठानले मध्यपुरथिमि, लोकन्थलीस्थित बिपी वनवाटिकामा वृक्षरोपण गरेर मनाएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीले पश्चिमा देशहरुले नेपालको समृद्धि र धरोहरलाई मेटाउने प्रयास गरेको बताउँदै यसतर्फ सजग रहन बताए । स्थानीय तहको निर्वाचनको प्रसंग निकाल्दै चुनावमा सिंगो पार्टी लाग्न नसकेको टिप्पणी गर्दै उनले पार्टीले चुनाव नलडी, व्यक्तिले चुनाव लडेको बताए ।

कार्यक्रममा सांसद मनमोहन भट्टराईले बिपीको मेलमिलापको नीतिलाई काँग्रेसले पालना गर्नुपर्नेमा कुरामा जोड दिए । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हरिबोल भट्टराई, जिल्ला अध्यक्ष गणेश प्रजापतिलगायतले बिपीकोे स्मृति गर्दै उनको विचारलाई काँग्रेसले आत्मसात् गर्न नसकिरहेको गुनासो व्यक्त गरे ।

कूल पाँच रोपनी क्षेत्रफलमा फैलिएको बिपी वनवाटिकामा पार्क निर्माण गरी बिपी कोइराला, स्थानीय नेता जगन्नाथ आचार्य र कमलबहादुर खड्काको शालिक निर्माण गरिने वाटिका जग्गा व्यवस्थापन समितिका संयोजक विजयकृष्ण खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here