एकैचोटी दुई परिवारको हत्या, शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा

0
70

फिदिम, जेठ ७ । गत राति दुई परिवारका नौ जनाको एकैचोटी पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा विभत्स हत्या गरिएको छ । लघु उद्यम प्रशिक्षक अर्चना गुरुङले घटनास्थलमा रहेकी गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताएकी छन् ।

गुरुङले धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको जानकारी दिइन् । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरेका हुन् । घटनास्थलमा हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । स्थानीयवासीलाई दिएको जानकारीअनुसार घाइते सीताले मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या बताइन् ।

दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे मात्र घटनास्थलमा थियो । नौ जनाको हत्या भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीसमेत घटनास्थलमा पुग्न लागेको पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here