प्राविधिक समस्याबाहेक अन्य अवस्थामा विद्युतभार कटौती नहुने : प्राधिकरण

0
253

काठमाडौँ, पुस ७ । प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युतभार कटौती नहुने नेपाल विद्युत प्राधिकरणले स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युतभार कटौती हुने आशयका समाचारहरु आएपछि प्राधिकरणले बत्ती ननिभ्ने बताएको हो ।

हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषित रुपमा कुनै प्रकारको विद्युतभार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाएका छन् । प्राविधिक समस्याका कारण कहीँ कतै केही समयसम्म विद्युत आपूर्तिमा अवरोध आएको भए पनि विद्यतभार कटौती नहुने उनको भनाई छ । समस्या देखिएका स्थानमा प्राविधिक टोली खटाएर समाधान गर्दै आएको उनले बताए । विद्युत आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकलाई ध्यानमा राखि दिई फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइएको र वितरण प्रणालीलाई सदृढ पारिएको उनले बताए । हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाब कम हुँदा विद्युत उत्पादन घट्ने गरेको छ । यही समयमा विद्युत माग बढ्ने हुँदा उपलब्ध सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उनले जनाएका छन् ।

विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध रहेको र ग्राहकलाई बत्ती दिन गत वर्षझै यस वर्षको हिउँदमा समेत प्राधिकरण दृढताका साथ लागिपर्ने प्राधिकरणले बताएको छ । विद्युतभार कटौती कम गर्न प्राधिकरण विद्युत माग र आपूर्ति व्यवस्थापनको योजना बनाएर कार्यान्वयनमा लागेको छ । विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाबाट ३७२ मेगावाट, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ । अपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम विद्युत माग हुने समयमा मात्र तीन घण्टा विद्युत कटौती गर्ने गरेको छ ।

यस वर्षको हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत गृहका उच्चतम सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपुग विद्युत भारतबाट आयात गर्ने योजना बनाएको छ । विद्युत आपूर्तिका लागि नेपाल आत्मनिर्भर बन्न नसकेको अवस्थामा नेपाल–भारत प्रसारण लाइनबाट सहज रुपमा विद्युत आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here