दैलेखका बालिकाद्वारा यौन दुर्व्यवहारविरुद्ध अभियान

0
46

दुल्लु, कात्तिक १४ । पछिल्लो समय बलात्कारका घटना वृद्धि हुँदै गइरहेका छन् । यसरी यौन दुव्र्यवहार र बलात्कारका घटना बढिरहेका बेला दैलेखका बालिका भने यसको विरुद्ध अभियानमा जुटेका छन् ।

बलात्कारका घटना न्यूनिकरणको उद्देश्यले नारायण नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत बालिकाले यौन दुर्व्यवहारविरुद्ध एकताबद्ध भएर अभियान थालेका हुन् । बालिका बचाऊ अभियानले सो विद्यालयमा गरेको कार्यक्रममा उनीहरुले बालिका बचाऊ विद्यालय समन्वय समिति गठन गरेर एकताबद्ध भएका हुन् ।

छ देखि १० कक्षासम्म अध्ययनरत बालिकाले सात सदस्यीय समिति गठन गरेर यस्तो अभियान शुरु गरेका छन् । उनीहरुले आफ्नो समुदाय र विद्यालयमा बालिकामाथि हुने हिंसाजन्य घटना न्यूनीकरण गर्नका लागि काम गर्ने बालिका बचाऊ अभियान दैलेखका संयोजक सजना सुनारले बताइन् ।

अभियानले बालिका जोखिमका कारण, यसको अवस्था र जोखिमबाट बच्ने उपायका बारेमा सो विद्यालयमा प्रशिक्षण दिइएको थियो ।

बालिका तथा विद्यालय शिक्षकलाई यौन दुर्व्यवहार र बलात्कारका घटनामा हुने कानूनी कारवाहीबारे अधिवक्ता सर्वराज जोसीले जानकारी गराएका थिए भने सम्भावित यौन हिंसा तथा बलात्कारबाट बच्ने उपाय बारे कराते प्रशिक्षक खगेन्द्र सिंहले प्रशिक्षण दिएका थिए ।

बालिका कस्ता ठाउँमा जोखिममा पर्ने गरेका छन्, जोखिमबाट कसरी बच्नेलगायतका विषयमा अभियानका संयोजक सजना सुनारले प्रशिक्षण दिएकी थिइन् ।

सो अवसरमा दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बालिका बचाऊ अभियानले यौनजन्य तथा बलात्कारका घटना हुनै नदिनका लागि मद्दत पुग्ने भन्दै यौन हिंसा र बलात्कारविरुद्ध बालिका नै जागरुक हुनु आवश्यकता औल्याए ।

अभियानकी संयोजक सजना सुनारले नारायण नगरपालिकालाई लक्षित गरिएको अभियान जिल्लाव्यापी बनाउन यहाँका ११ वटै स्थानीय तहसँग समन्वय गर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here