जाजरकोटमा भाइरल ज्वरोले ६ को मृत्यु, २ हजार विरामी, औषधी सहित स्वास्थ्यकर्मी रोग प्रभावित क्षेत्रमा

0
506

बद्री पन्त
जाजरकोट २१, पुस । जाजरकोटको जुनीचादे गाउँपालिकामा दुई साता देखि फैलिएको भाइरल ज्वरोले ६ जनाको मृत्यु भएको छ । ज्वरोले उक्त गाउपालिकाका २ हजार बढी स्थानीय विरामी परेका छन् ।

ज्वरोले जुनीचा“दे २, मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ५३ बर्षीय आइती तिरुवा, ७२ बर्षीय सतरुप शाही र नाम नखुलेका ३ नवजात शिशुको मृत्यु भएको छ । भाइरलका कारण उनीहरुको मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए । भाइरलले रोग विरुद्ध लड्ने शक्ति कम्जोर भएका ब्यक्तिको मृत्यु भएको हो । चिसोका कारण भाइरलको प्रकोप फैलिएको छ । ज्वरोका कारण जुनीचादे १, २ र ३ का २ हजार स्थानीय थला परेको इन्चार्ज सिंहले बताए । भाइरलको प्रकोप नियन्त्रमा ल्याउन नसके विरामीको संख्या अझै बढ्ने उनले बताए ।

विरामीमा ज्वरो आउने, हातखुट्टा दुख्ने, सुख्खा खोकी लाग्ने, घाटी दुख्ने, श्वासप्रश्वास बन्द हुने, आखा रातो हुने लगाएत लक्षण देखा परेको सिंहले बताए । स्वास्थ्य चौकीमा दैनिक ५० देखि ६० जना भाइरलका विरामी उपचारका लागि आउने गरेका छन् । भाईरलका विरामी स्वास्थ्य संस्थामा उपचारमा नआई धामी झाक्रीको झारफुकमा जाने गर्दा रोग घट्नुको साटो तीब्र रुपमा फैलिने समस्या भएको छ । जुनीचादे जुनी, चादे, काप्रा, बड्कुले, कार्कीगाउ, मजकोट,आलीमौगाना, डाडाकोट र परालेमा भाइरल ज्वरोको प्रकोप देखा परेको जुनीचादे गाउपालिका अध्यक्ष कृष्ण बहादुर केसीले बताए । गाउ गाउमा भाइरल ज्वरोका विरामी थलिएको अध्यक्ष केसीको भनाइ छ । भाइरलको प्रकोप फैलिएको सुचना पाएलगत्तै सदरमुकामबाट माहामारी फोकल पर्सन कृष्ण खत्रीको टोलीलाई जुनीचादे तर्फ पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए ।

रोग प्रभावित क्षेत्र ३२ कोस टाढा रहेको छ । रोग प्रभावित क्षेत्रमा औषधीका साथै स्वास्थ्यकर्मी पठाएको उनले बताएका छन् । रोगको पहिचानका लागि टेक्निसियन सहित एच १ एन १ को टेष्ट किड समेत प्रभावित क्षेत्रमा पठाएको छ । रोग प्रभावित क्षेत्रमा विरामीको थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली पठाएको कार्यालय प्रमुख नेपालीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here