‘मधेस आन्दोलनमा’ मिश्रले गरे विद्यावारिधि

0
2373

सिरहा, फागुन १६ । सिरहा जिल्लाको विष्णुपुरकट्टी गाविस ९, सिमलटोकीमा जन्मिएका विजयप्रसाद मिश्रले त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालमा मधेस आन्दोलन ः वि.सं. २०५४ सालदेखि राजतन्त्रको अन्त्यसम्म’ विषयमा विद्यावारिधि सम्पन्न गरेका छन् ।

मधेसी जनअधिकार फोरम नेपालको स्थापना भएको बर्षदेखि संविधानसभाको पहिलो वैठकबाट राजतन्त्रको अन्त्य भएसम्मको अवधिमा आधारित रहेर मधेसमा भएका आन्दोलनहरुमा केन्द्रित भई गरिएको अनुसन्धानमा मधेस केन्द्रित दलहरुको सहयोगले राजतन्त्रको अन्त्य हुन सम्भव भएको उल्लेख गरिएको छ ।

त्यसैगरी मधेस आन्दोलनले संघीयतालाई संविधानमा लेख्न लगाएको हो । नेपालमा सबैभन्दा पहिले संघीयताको माग गर्नेहरु मधेस केन्दित दलहरु नै रहेको, तर भारतीय प्रभावमा परेर नेपालमा संघीयताको कुरा उठाइएको यस अनुसन्धानले प्रमाणित गर्न खोजेको छ ।

सोधकर्ता मिश्रले मधेस आन्दोलन पटक पटक भइरहन्छ तर यसको स्वरुपहरु भने परिवर्तनशील हुन्छ भन्ने निष्कर्ष निकालेका छन् । शोधप्रवन्धमा मिश्रले मधेस आन्दोलनमा राजावादीहरुको समेत सहयोग रहेको र भारतले नेपालका विभिन्न जाति समुदायका नेताहरुलाई उनीहरुको जातअनुसारको स्वायत्तताको लागि देश भित्र आबाज उठाउन प्रोत्साहित गर्ने गरेको उल्लेख गरेका छन् ।

जब जब नेपाल सरकारमा भारतीय विरोधीहरुले नेतृत्व गर्दछन् वा सरकारमा बसेकाले भारतको कुनै कुरा नमानेको अवस्थामा मधेसमा आन्दोलनहरु हुने र सशस्त्र गतिविधि गर्नेहरु सक्रिय हुने गरेको देखिएको मिश्रको तर्क छ ।
२०६३ साल माघको मधेस आन्दोलन पूर्व योजना बनाएर नभई माओवादीहरुको उग्रव्यवहारका कारण प्रतिकारका लागि भएको आन्दोलन थियो जसले विस्तारै मधेस विद्रोहको रुप लिएको थियो । आन्दोलन मधेसी जनअधिकार फोरम नेपालले आह्वान गरे तापनि यसमा माओवादीलाई सबक सिकाउनका लागि कतिपय स्थानीय शक्तिहरुले आन्दोलनबाट आफूलाई फाइदा नभए पनि बदलाको भावना राखी सघाएका थिए ।

सरकारले जुनसुकै आन्दोलनहरुलाई साम्य पार्न संझौता गर्ने तर ती संझौताहरु कार्यान्वयनमा नल्याउँदा पछिल्लो आन्दोलनहरु झन्झन् उग्र हुने, बार्तामा बस्न नमान्ने र आन्दोलनको उपलब्धीलाई उधारोमा लिन नचाहने प्रबृत्ति बढेर गएको मिश्रले गरेको अनुसन्धानबाट देखिएको छ । पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितपुरका इतिहास विषयका उपप्राध्यापक मिश्र पत्रकारहरुका प्रशिक्षक पनि हुन । उनले वि संं. २०५० सालदेखि जे.एस.मुरारका क्याम्पस लहानबाट प्राध्यापन शुरु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here