जनताको आवश्यकताले वाम तालमेल भएको हो : दाहाल

0
204

चितवन, कात्तिक १३ । वाम तालमेल देश र जनताको आवश्यकताले बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिर सरकार निर्माण गरी देशलाई समृद्धितर्फ लैजान वाम तालमेल भएको बताएका छन् । वाम तालमेल मात्रै नभएर वाम एकता र गठबन्धनको पनि प्रक्रिया अगाडि बढेको भन्दै यसमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको उनले बताए ।

वाम तालमेल एकतासहितको विशेषता भएकाले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल अहिले नभएको उनको भनाई छ । पार्टी एकता संयोजन समिति गठन भइसकेको बताउँदै उनले वाम तालमेल चुनावी मात्रै नभएर फरक विषय भएको जनाए । नेपाली काँग्रेससँग अहिले पनि संवाद र सहकार्यमा रहेको बताउँदै दाहालले काँग्रेससँगको सहकार्य नतोडिएको बताएका छन् ।

काँग्रेसले पनि नयाँ गठबन्धन बनाउन लागेको बताउँदै उनले देशको राजनीतिक, आर्थिक आवश्यकताले, हाम्रो, संविधान, ऐन कानूनले पनि धेरै पार्टी होइन, थोरै पार्टी हुनु देशको हितमा छ भन्ने परिकल्पना गरेको बताए । यो प्रक्रियाको शुरुवात हामीले गरेका छौं उनले भने ।

संविधान अनुसार देशमा साना धेरै पार्टी रहने स्थिति नभएको भन्दै उनले ठूला थोरै पार्टी रहने परिकल्पना संविधानले नै गरेको बताए । वाम तालमेललाई नकारात्मक रुपले हेर्न नहुने उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here