छुवाछूत हटाउन सामाजिक अभियान

0
481

रोल्पा, जेठ २८ । रोल्पाका स्थानीय तहका सरकारले जातीय छुवाछूत अन्त्य गर्ने उद्देश्यका साथ सामाजिक अभियान शुरु गरेका छन् ।

समृद्ध समाजका लागि जातीय छुवाछूत बाधक भएको भन्दै यहाँका स्थानीय तहका सरकारले यस्तो खालको अभियान चलाएका हुन् । जिल्लामा रहेका दलितको साझा संस्था दलित जनाधिकार मञ्चसँगको साझेदारीमा जिल्लाभर उक्त अभियान अगाडि बढाएको जनाइएको छ ।

विगतमा सशस्त्र द्वन्द्वको कम प्रभाव रहेका तथा बाहुन क्षेत्रीको घनाबस्ती रहेका क्षेत्रमा जातीय छुवाछूत बढी रहेको दलित जनाधिकार मञ्च रोल्पाका सचिव मानसिं विकले बताए । सशस्त्र द्वन्द्वबाट प्रभावित तथा जनजाति बाहुल्य क्षेत्रमा छुवाछूत निकै कम देखिएको उनको भनाइ छ ।

बालीघरे प्रथाको अन्त्य, पञ्चे बाजा समूहको व्यवसायीकरण तथा जातीय छुवाछूत अन्त्य भएको सुनिश्चितता भएपछि वडालाई जातीय छुवाछूतमुक्त वडा घोषणा गरिने दलित अभियान्ताले बताएका छन् ।

अभियान अन्तर्गत प्रशिक्षण, अन्तक्र्रिया, सहभोज, परामर्शजस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ । जिल्लाका सबै स्थानीय तहका सरकारले दलित जनाधिकार मञ्चको साझेदारीमा अभियान सञ्चालन गरिरहेको सचिव विकले जनाएका छन् ।

जिल्लालाई जातीय छुवाछूतमुक्त गर्ने उद्देश्यले पाँच वर्षे रणनीति योजनासमेत तयार गरिएको छ ।

उक्त योजना अनुसार हालसम्म साविकका थवाङ, पाछावाङ, कोटगाउँ, रांसी र सेरम गाविस छुवाछूतमुक्त भएको दलित जनाधिकार मञ्च रोल्पाले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here