द्वन्द्वका हत्यामा संलग्नलाई कडा कारवाही हुनुपर्नेे : देउवा

0
523

भक्तपुर, जेठ २४ । द्वन्द्वका हत्यामा संलग्न भएकाहरुलाई छाड्न नहुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जोड दिएका छन् ।

आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उनले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताएका छन् ।

प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहेका जोन्छेमाथि द्वन्द्वका नाममा उनकै घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध हो, यस्ता अपराधीलाई कहिल्यै कसैले पनि छाड्नुहुँदैन– पूर्वप्रधानमन्त्री देउवाले भने ।

सभापति देउवाले शहीद जोन्छेंले छाडेर गएको काम सफल पार्नु र उनले अवलम्बन गरेको बाटो पछ्याउनु आजको आवश्यकता रहेको औंल्याए ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपाली काँग्रेसभित्रको गुटउपगुटको अन्त्य गरी एकढिक्का बनाएर लैजाने जिम्मेवारी पार्टी सभापति देउवाको भएको भन्दै यसमा पार्टी अग्रसर हुनुपर्नेमा जोड दिए ।

पार्टी जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले शहीद जोन्छेंले प्रजातन्त्र स्थापनमा पुर्याएको योगदानको चर्चा गरे ।  नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नेपाली काँग्रेस कुनै पनि परिस्थितिको सामना गर्दै अगाडि बढ्ने र देशका लागि जस्तोसुकै मूल्य चुनाउन तयार रहने बताए ।

कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका अध्यक्ष एवं प्रदेश नं ३ का प्रदेश सदस्य रजनी जोन्छेंलगायतले शहीद जोन्छेंको योगदानलाई पार्टी र देशले बिर्सन नहुनेमा जोड दिएका छन् । कार्यक्रममा प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै प्रमाणपत्रहरु प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here