शिक्षक अभावले दुर्गम पहाडी क्षेत्रका विद्यार्थी समस्यामा

0
52

गाईघाट, कात्तिक ११ । सरकारी तथा सामुदायिक विद्यालय शिक्षक विहीन बन्दा विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ ।

४५६ सरकारी विद्यालय सञ्चालन हुँदै आएको उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभावले पठनपाठन प्रभावित बनेको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षकको अभावले विद्यार्थीको पढाइमा असर पर्दै आएको छ ।

अहिले पनि जिल्लाको ताप्ली गाउँपालिका, लिङचुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकाका झण्डै २५० विद्यालयमा गणित, नेपाली, अंग्रेजी तथा विज्ञान विषय पठनपाठन गराउने शिक्षकको अभाव रहेको जिल्ला शिक्षा एकाई समितिका प्रमुख हरिहर धितालले बताए ।

मुख्य पहुँच भएका विषयगत शिक्षक नगरपालिका केन्द्रित र शहरी क्षेत्रका विद्यालय केन्द्रित हुने गरेको र शिक्षकको सबै दरबन्दी शहरकेन्द्रित हुने गरेपछि ग्रामीण भेगमा अहिले झण्डै तीन सय विषयगत शिक्षकको अभाव रहेको जिल्ला शिक्षा एकाई समितिका पदाधिकारीहरुको भनाइ छ ।

आधारभूत विद्यालय १ देखि ५ कक्षासम्ममा मात्र अहिले जिल्लाका विद्यालयमा झण्डै ३९ हजार विद्यार्थी अध्ययन गर्दै आएको भए पनि सात सय मात्र आधारभूत तहमा स्थायी शिक्षक रहेका छन् । यस्तै कक्षा ६ देखि ८ सम्ममा स्थायी शिक्षक १८२ रहेका छन् भने बाँकी २४२ अनुदान र राहत दरबन्दीमा रहेका शिक्षा एकाई समितिले जनाएको छ ।

कक्षा ९ र १० मा स्थायी शिक्षक १२९ छन् भने बाँकी १४६ अनुदान र राहत दरबन्दीमा रहँदै आएका छन् । विषयगत शिक्षक अभावका कारण पहाडी विद्यालय वा दुर्गम क्षेत्रमा एउटै विषयका शिक्षकले चार वटासम्म बिषय हेर्नुपर्ने बाध्यता छ ।

विषयगत शिक्षकको अभावका कारण प्रत्येक वर्ष एसइई परीक्षामा राम्रो नतिजा आउन नसकेको समितिका पदाधिकारी बताउँछन् ।

जिल्लाको ग्रामीण भेगका विद्यालयमा विषयगत शिक्षक नियुक्ति गरेर दरबन्दी पूर्ति नगरेसम्म र मन्त्रालयबाट विषयगत शिक्षकको दरबन्दी पूर्ति नगरेसम्म विद्यार्थीको पठनपाठनमा सुधार आउननसक्ने सम्बन्धित क्षेत्रका अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here