चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत : अध्यक्ष दाहाल

0
851

काठमाडौँ, साउन १४ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका उपमन्त्री वाङ याजुन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उनीहरुले नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा छलफल गरेका थिए । भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीबीचको एकताले जनतामा आशा जागेको भन्दै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे ।

चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाइ रहेको उनको सचिवालयले बताएको छ । अध्यक्ष दाहालले नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको बताउँदै आगामी दिनमा पनि यस्तै खालको सहयोगको अपेक्षा गरे ।

उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको प्रस्ट्याए । म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुशी लागेको छ– अध्यक्ष प्रचण्डले भने ।

उनले ठूला कम्युनिष्ट पार्टीको एकताबाट देशमा स्थायित्व कायम भएकोमा बधाईसमेत दिए । उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताएका छन् । ‘वान बेल्ट वान रोड’ परियोजना कार्यान्वयनका लागि सहज वातावरण तयार भएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here