आर्थिक समृद्धि तथा विकासको बाटोमा मुलुकलाई दौडाउनुपर्ने : उपराष्ट्रपति पुन

0
222

नेपालगञ्ज, मंसिर २८ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात मुलुकको संक्रमणकालीन राजनीति समाप्त भएर जाने उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वास व्यक्त गरेका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आयोजना गरेको आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै पुनले निर्वाचनपछि संविधान कार्यान्वयनको सुखद परिणाम आउने र मुलुक समृद्धितर्फ जाने बताए । नेपाल नयाँ युगमा प्रवेश गर्न लागेको र अब सबै मिलेर आर्थिक समृद्धि तथा विकासको बाटोमा मुलुकलाई दौडाउनुपर्ने र यसका लागि राजनीतिक दलहरुबीच सहकार्य, संवाद र समझदारी निरन्तर चलिरहनु पर्ने उपराष्ट्रपति पुनको भनाइ थियो ।

उनले सिर्जनालाई व्यवस्थित गर्न पुस्तक, पुस्तक व्यवस्थापनका लागि पुस्तकालय र पुस्तकालयको व्यवस्थापनका लागि पुस्तक नीति हुनु अहिलेको आवश्यकता रहेको औल्याए । उक्त अवसरमा उपराष्ट्रपति पुनले शिक्षा, साहित्य र कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने त्रिभुवन विश्व विद्यालयका स्रष्टाहरु पूर्व उपकूलपति प्राध्यापक डा सुरेशराज शर्मा, फिल्म निर्देशक यादव खरेल, साहित्यकार सनतकुमार रेग्मी र शिक्षा अभियन्ता हरिप्रसाद रावतलाई अभिनन्दनपत्र, दोसल्ला प्रदान गरी सम्मान गरेका थिए ।

त्यसैगरी, सामाजिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने सञ्जय सिंह, नारायण ज्ञवाली र वसन्त लामिछाने पनि उपराष्ट्रपति पुनबाट सम्मानित भएका छन् । कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक हरि गौतम, सम्मानित व्यक्तित्व शर्मा, महासंघका केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालले आफ्ना भनाई प्रस्तुत गरेका थिए ।

पुस ८ गतेसम्म सञ्चालन हुने उक्त पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा पुस्तकका १४० कक्ष राखिएका छन् भने महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here