अत्यधिक मात्रामा गर्मी बढेपछि विद्यालय बन्द

0
1684

पर्सा, जेठ २९ । एक हप्तादेखियता अत्यधिक रुपमा लगातार बढेको गर्मीका कारण आजदेखि चार स्थानीय तहमा रहेका विद्यालय बन्द गरिएको छ ।

गर्मी बढेसँगै विद्यालयमा विद्यार्थीलाई पढ्न सक्ने वातावरण नभएका कारण वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो ।

वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम्मका लागि तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा भने सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।

वीरगञ्जमा रहेका सम्पूर्ण विद्यालय आइतबारसम्मका लागि बन्द गराइएको महानगरपालिका शिक्षा शाखाका अधिकृत मञ्जुर अन्सारीले बताए ।

अत्याधिक मात्रामा गर्मी बढ्दै गएपछि विद्यार्थी र अभिभावकको आग्रहमा सखुवा प्रसौनी गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालय पाँच दिनका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले जनाएका छन् ।  ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय पनि पाँच दिनका लागि बन्द गरिएको छ ।

अत्यधिक गर्मीका कारण विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या देखा पर्न थालेपछि विद्यालय बन्द गरिएको ठोरी गाउँपालिकाका शिक्षा संयोजक छोटेलाल प्रसादले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here