उत्कृष्ठ ३ स्वास्थ्य स्वयम्सेवीहरुलाई एकएक लाख पुरस्कार दिने महानगरको घोषणा

0
1005

ललितपुर, मंसिर १९ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा उत्कृष्ट तीन स्वास्थ्य स्वयंसेवकलाई एक–एक लाख रुपैया सहित सम्मानित गर्ने भएको छ । विश्व स्वयम सेवक दिवस तथा १६ औं महिला स्वयं सेविका दिवस २०७६ को अवसरमा ललितपुर महानगपालिकाले आयोजना गरेको स्वास्थ्य स्वयंसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा ललितपुुर महानगरका प्रमुख चिरीवावु महर्जनले यस्तो घोषणा गरेका हुन् ।

महानगरद्धारा आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा नगरप्रमुख महर्जनले भने, ‘ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिको सिफारिसमा आर्थिक वर्ष २०७६÷७७ मा उत्कृष्ट हुने दुई जना महिला स्वास्थ्य स्वयंसेविका र एक जना पुरुष स्वास्थ्य स्वयंसेवकलाई एक–एक लाख पुरस्कार सहित सम्मान गर्नेछौं ।’ नगरप्रमुख महर्जनले महिला स्वास्थ स्वयमसेविका र स्वास्थ्य स्वयमसेवकहरुले उल्लेखनीय काम गरेका कारण स्वदेश तथा विदेशमा उच्च प्रशंशा भइरहेको वताए । उनले भने, ‘स्वास्थ्य सेवामा यहाँहरुले गर्नु भएको योगदानको कारण दश वर्षको दौरानमा एचआइभी पोजेटिभ भएका विरामीहरुको संख्याा ५८ प्रतिशत घट्न सफल भएको छ ।’

सोही कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले स्वास्थ्य स्वयम्सेवकहरुले अमुल्य कामहरु गर्दै आएको चर्चा गरेकी छिन् । उपप्रमुख सत्यालले भनिन, स्वास्थ्य स्वयंसेविकाहरुले यति राम्रो काम गर्नुभएको छ । सायद तपाईहरु त्यो ठाउँमा हुनुहुन्नथ्यो भने हरेक गाउँटोलमा मानिसहरुले अकालमा मृत्युवरण गर्नुपथ्र्यो । स्वयम सेवकले आफ्नो मनबाट स्वतन्त्र रुपले हरेक घरघरमा, टोलटोलमा गएर गरेको कामले स्वयमसेविका प्रति सम्मान गरेको हाे । हरेकको घरघरमा गएर स्वास्थ्य शिक्षा दिने काम र चेतना जगाउने काम गरेकोमा सबै स्वास्थ्य स्वयमसेविकाहरुलाई हृदयदेखि नै सादुवाद व्यक्त गर्न चाहान्छु ।’ उपप्रमुख सत्यालले भनिन् ।

ललितपुर महानगरपालिकाले स्वास्थ्यको नीति बनाउँदा महिला स्वयंसेविकाहरुको मागहरुलाई सम्बोधन गर्ने गरी समावेश गरेर जाने जानकारी गराएकी छिन् । उपप्रमुख सत्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानका कारण मातृ मृत्युदर, बाल मृत्युदरमा कमी आएको बताएकी छिन् ।

त्यस्तै ललितपुर महानगरका स्वास्थ सल्लाहकार डा मदनकुमार पियाले विश्वमा ११ करोड स्वयंसेवक रहेको र त्यसमा ६० प्रतिशत महिला स्वयंसेविका रहेका वताएका थिए । स्वयंसेविकाहरुले महामारी र विपत्तिको वेलामा विशेष भुमिका निर्वाह गर्ने भएकाले त्यसबाट समाजमा सकरात्मक फाइदा पुगेको उनको भनाई थियो ।

ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले स्वास्थ्य स्वयम्सेवीहरुले आमाले जस्तै निश्वार्थ सेवा गर्ने भएकोले उनीहरुलाई सानो सहयोग गरेको बताएका छन् । प्रदेश नं.३ ललितपुरका स्वास्थ कार्यालय प्रमुख डा. खगेश्वर गेलालले पूरै जीवन समुदायका लागि समर्पित गर्ने स्वयमसेविकाहरुलाई प्रोत्साहित गरेर उनीहरुको जीवन र स्वास्थ्यको सुरक्षाको प्रत्याभूति दिएर समुदायको स्वास्थ्य स्तरलाई अझ राम्रो र प्रभावकारी बनाउन सकिने स्पष्ट पारेका थिए ।

उनले स्वास्थ्य क्षेत्रमा प्रगति हासिल गर्न स्वयंसेवीहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए । ‘गाउँ नगरमा महिला स्वास्थ स्वयमसेविका, स्वास्थ प्रवद्र्धनमा अहम भूमिका’ भन्ने नाराका साथ सम्पन्न स्वास्थ्य स्वयंसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा ललितपुर महानगरले वडा स्वास्थ्य कार्यान्वयन समितिका उत्कृष्ट सदस्यहरु, उत्कृष्ट टिवी ट्रेसर, उत्कृष्ट टोल हेल्थ प्रमोटरलगायत ८३ जनालाई सम्मान तथा पुरस्कृत गरेको हो । ललितपुर महानगरमा ५६८ जना स्वास्थ स्वयंसेविकाहरु क्रियाशील रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here