महान काम बन

0
503

नर हौ तिमी निराश नभै आशाको त्यो दीप बाल
मनभित्रका काला, मैला, दुषित भाव सबै फाल ।
कहाँ हिँड्छौ भौतारिई आफैँभित्र फर्कि हेर
कस्तुरी छ तिमीभित्रै नफाल है त्यसलाई खेर ।

शक्ति छ है दुई पाउमा संसारलाई बोक्न सक्ने
आँधी, हुरी जे आए नि ती करले रोक्न सक्ने ।
हृदय छ विशाल तिम्रो अनन्त नै अटाउने
शक्तिशाली मस्तिष्क छ सबै काम खटाउने ।

मनै शत्रु मनै मित्र त्यसलाई तिमी पहिचान गर
मनको वेगलाई रोक्न सके जित्छौ तिम्ले यो संसार ।
परमशक्ति तिमीमाथि मनको आँखा खोली हेर
सारा विश्व तिम्रो नै हो सबैतिर प्रकाश छर ।

जन्म लियौ मनुष्यको व्यर्थै गर्छौ चिन्ता किन ?
अमूल्य छ जीवन तिम्रो खुसी मनाऊ हरेक क्षण ।
तिमीमाथि अस्तित्वले सारा शक्ति खन्याको छ
सबैभन्दा शक्तिशाली दिमाग तिम्रो बनाको छ ।

जतिसक्दो गर तिमी यसको उपयोग
सुस्ताउने बेला हैन उठ अब जाग ।
संसाररुपी बगैँचामा मीठा फल रोप
जस्तो रोप्छौ त्यस्तै पाउछौ यही तिम्ले सोच ।

तिमी सबको भलो सोच तिम्लाई सोच्ने संसार छ नि
निर्माताले पठाएको यो संसारमा तिम्लाई छानी ।
अस्ताउने हैन तिमी उदाउदो घाम बन
प्रयोजनले आयौ तिमी अब महान् काम बन ।

महालक्ष्मी आचार्य
मनोसामाजिक परामर्शदाता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here