‘टास्क फोर्स’को अगुवाईमा होला त सडक सुधार ?

0
151

काठमाडौं, मंसिर १९ । काठमाडौंको सडक खण्डको अवस्था परिवर्तन गरिने भन्ने धेरै पटक कुरा उठ्छन् तर ती कुरा कुरा मै सिमित भई दिदा सडकका कारण आम नागरिकको हरिविजोग नै हुने गरेको छ । सरकार र सरोकारवाला निकायको लापर्वाहीका काराण धेरै सडकको अवस्था कम्जोर रहेको पाइन्छ । सडक मर्मत भएको केही समयमा नै सडक पुरानै अवस्थामा फर्किदा र सो प्रति कसैले चासो नदिँदा समस्या सधै जिउँका तिउ हुने गरेको पाइन्छ ।

प्रधानमन्त्री कार्यालयले काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न ‘टास्क फोर्स’ बनाएर केही हदसम्म काम हुने हो की भन्ने आश भए पनि भर भने परि हाल्ने अवस्था छैन । प्रधानमन्त्री कार्यालयका सहसचिवको नेतृत्वमा बनेको टास्क फोर्समा ट्राफिक कार्यालय, सडक विभाग, यातायात व्यवस्था विभाग र महानगरपालिका समावेश रहेकोले कामले तिव्रता पाउने आश जगाउन सकिन्छ । टास्क फोर्स दुई तहको हुने हुनाले यसको काम प्रभावकारी रुपमा हुने अनुमान गर्न सकिन्छ ।

पहिलो तहमा प्रधानमन्त्री कार्यलयको सहसचिव त्यसको संयोजकको रुपमा रहेका छन् । सडक विभागको उपमहानिर्देशक, ट्राफिक कार्यालयका एसएसपी, यातायात व्यवस्था विभागको कार्यकारी निर्देशक पनि त्यस टिमको सदस्यको रुपमा रहने छन् । यस्तै दोस्रो तहमा ‘क्विक रेस्पोन्स’ टिम हुने जनाइएको छ । प्रधानमन्त्री कार्यालयका उपसचिवको नेतृत्वमा सडक विभागका उपसचिव, ट्राफिकको डिएसपी र यातायात व्यवस्था विभागको उपसचिव उक्त टिममा रहने जानकारी गराइएको छ ।

सडक विभागअनुसार दोस्रो तहको टिमले उपत्यकाका विभिन भागमा घुम्ने र सडकको अवस्था जाँच गर्ने छ । टिम पुगेको कुनै पनि ठाउँमा खाल्डाखुल्डी देखिएमा तत्कालै सडक मर्मत गर्ने टिमलाई खबर गर्छ वा फोटो खिचेर पठाउँछ विभागले भनेको छ । विभागका अनुसार सानो तयारीले पुर्न सकिने खाल्डो भए त्यो तत्कालै पुरिन्छ । तत्कालै गर्न नसकिने काम भएमा क्विक रेस्पोन्स टिमले पहिलो तहमा सूचना पठाउँछ । पहिलो तहका सदस्यले त्यसमा के गर्न सकिन्छ भन्ने निर्णय गर्ने विभागले जानकारी गराएको छ ।

सडक मर्मतको बजेट भने सडक विभागबाटै निकासा गरिने योजना सहित काम अघि बढाइएके बताइएको छ । विभागसँगको बजेट अपुग भए अर्थलाई सिफारिस गरेर भएपनि बजेट कमि हुन नदिने सडक विभागको भनाई छ । गत हप्ता मात्रै प्रधानमन्त्रीले आगामी चार महिनामा काठमाडौंका सबै खाल्डाखुल्डी पुरीसक्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीकै निर्देशनपछि अहिले उपत्यकाका विभिन्न स्थानका सडकमा खाल्डा–खुल्डी पुर्ने काम तीव्र रूपमा भइरहेको छ ।

अहिलेको कामको गतिलाई हेर्दा साँचै नै काम गर्न चाहे हुँदो रहेकछ भन्ने कुरा पनि प्रष्ट भएको छ । प्रधानमन्त्री कार्यालयले देखाएको यो चासो र काम निरन्तर रुपमा अघि बढे सडकको सास्तीमा कामी आउने थियो । तर प्रधानमन्त्रीकै निर्देशनको पालना गर्नका लागि मात्रै उनको आँखामा छारो हाल्ने तरीकाले काम भएमा जनताले पाउने सास्ती कायम रहनेमा दुविधा रहदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here