नेविसंघद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

0
574

काठमाडौँ, जेठ ४ । पछिल्लो समय लगातार पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गर्दै जनताको ढाड सेक्ने काम गरेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजीसहित घेराउ गरेको हो । नेपाल आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै नेवि संघ मूल्यवृद्धिको विरोधमा उत्रिन बाध्य भएको नेवि संघका नेता दीपक भट्टराईले बताए ।

आयल निगम कमिसनमा नभई पारदर्शी रुपमा चल्नुपर्ने उनको भनाइ छ । नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

यसैबीच नेविसंघले आजै नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएको छ । मनलाग्दी रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै नेविसंघले ध्यानाकर्षण गरेको हो ।

ज्ञापनपत्र बुझ्दै नायब कार्यकारी निर्देशक भट्टराईले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यवृद्धि अनुसार नै मूल्य समायोजन गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here