आगामी चुनावमा काँग्रेसले बहुमत ल्याउने : प्र.म. देउवा

0
476

धनगढी, कात्तिक ३० । देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त दुरुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन सफल पार्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जनतालाई सरकार बदल्ने र बनाउने अधिकार भएकाले कसैको डर, त्रास, धम्की, दबाब, लोभलालचमा नलागी चुनावमा सहभागी हुन अनुरोध गरे । उनले जनताले प्रजातन्त्र र विकास चाहेकाले सुदूरपश्चिमका जनताले विकास गर्ने पार्टी काँगे्रेसलाई निर्वाचनमा रोज्ने उल्लेख गरेका छन् । देश डर त्रासबाट मुक्त समाज भइरहेका बेला बनाइएको वाम गठबन्धनबाट डर त्रासको शासन आउने, कम्युनिस्ट अधिनायकवाद र तानाशाही आउँछ कि भनेर जनता डराएको बताएका छन् ।

उनले आफ्नो भारत भ्रमणका क्रममा सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने पञ्चेश्वर परियोजनाको काम अगाडि बढाउने सहमति भइसकेको, गौरी फण्टा नाकाको स्तरोन्नति गर्ने, पश्चिम सेती जल विद्युत परियोजनाको निर्माण गर्न प्रक्रियाको पहल थालिएको र उत्तरतर्फ चीनको नाका ताक्लाकोटसम्मको बाटो निर्माणकार्य भइरहेको बताए । काँग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने म नै हुँ, अरु पार्टीका कोही प्रधानमन्त्री हुनेवाला छैनन् प्र.म. देउवाले भने ।

विपक्षी नेताहरुले देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भनेर दिएको अभिव्यक्तितर्फ टिप्पणी गर्दै उनले भने उनीहरुले भनेर हुन्छ, ज्योतिषले सातपटक प्रधानमन्त्री हुनुहुन्छ भनेको छ । सभापति देउवाले अहिलेको बेला पार्टी एकजुट भएर चुनावमा होमिने बेला आएको उल्लेख गर्दै पार्टीलाई विजयी गराउन सहयोग गरेमा कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवा हुने बताए । उनले आगामी चुनावमा काँग्रेसले बहुमत ल्याएर विजयी हुने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here