कांग्रेसमा सिएनएन हिरो कोइरालाको प्रवेश

0
588

काठमाडौं, कात्तिक २६ । आसन्न प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन नजिकिएसँगै दिनहुँ नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को नै लाग्न थालेको छ ।

यसैबीच ‘सिएनएन हिरो’बाट सम्मानीत समाजसेवी अनुराधा कोइराला आइतबार कांग्रेसमा प्रवेश गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरेका हुन् । चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय रहँदै आएकी कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव हुने बताउँदै पार्टी प्रवेश गरेकी हुन् ।

सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने पार्टी कांग्रेस मात्रै भएको बताउँदै कोइरालाले लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव हुने बताइन् । उनले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने भन्दै लोकतन्त्रलाई थप बलियो बनाउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि अनुरोध गरेकी छिन् ।

सामाजिक क्षेत्रमा लामो समय योगदान गरेकी कोइराला अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाति, मधेसी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउँछिन् । सबैका अधिकार कांग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्ने भएकाले अव सबै जनताले बुझ्नुपर्ने समय आएको उनको भनाई छ ।

उनले संविधान कार्यान्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर ६ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here