आर्थिक अभावका कारण अस्पतालमा एम्बुलेन्स सेवा बन्द

0
835

पर्वत, माघ १४ । जिल्ला अस्पतालको बिरामी बोक्ने एम्बुलेन्स बिग्रँदा विगत आठ महिनादेखि सर्वसाधारणले समस्या झेल्दै आइरहेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।

५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले बताएको छ । पोखरास्थित सृजना अटो वर्कसपमा लगिएको एम्बुलेन्स मर्मतका लागि रु पाँच लाख खर्च लाग्ने बताइएको छ ।

मर्मतका लागि कुनै निकायले रकमको व्यवस्था नगर्दा मर्मत नभएको जिल्ला अस्पताल विकास समितिमा कार्यरत नायब सुब्बा रघुनाथ रेग्मीले बताएका छन् । कुश्मानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा पटक पटक पत्र पठाए पनि रकमको आश्वासन नआएको रेग्मीको भनाइ छ ।

रकमको अभावमा मर्मत गर्न नसकिएको हो उनले भने । जिल्ला अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापाले पनि मर्मतका लागि रकमको अभाव रहेको बताए । अस्पतालमा अहिले दैनिक सयको हाराहारीमा बिरामी आउने गरेका छन् । त्यहाँ बिरामीको उपचार सम्भव नभएमा जिल्लाबाहिर पठाउनुपर्छ ।

पोखरा र बागलुङ रिफर गर्नुपर्ने बिरामीलाई भाडाका ट्याक्सीमा पठाउन भन्ने गरिएको जिविसका अध्यक्ष राधाकुमारी क्षेत्रीले बताए । जिल्ला अस्पतालमा पर्वतसहित बागलुङका आधा दर्जन वडाका बासिन्दाले सेवा लिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here