साझाले उपत्यकामा २० वटा नयाँ बस भित्र्याउँदै

0
86

ललितपुर, कात्तिक ९ । उपत्यकामा साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।

उपत्यकाका विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक करोड लगानीमा बस भित्र्याउन लागिएको हो ।

नयाँ बस पनि यसअघि साझाले भित्र्याएको जस्तै आधुनिक र सुविधा सम्पन्न हुने व्यवस्थापक पाण्डेयको भनाइ छ । यसअघि जस्तै भारतीय कम्पनी अशोक लेल्याण्डको बस दुई महीनाभित्र काठमाडौँ भित्र्याउने लक्ष्य छ । बस आएपछि दर्ता भएर सडक निर्धारण हुने बताइएको छ ।

देशभर सञ्चालित विभिन्न यातायात सेवा प्रदायकमध्ये साझा यातायातमा सरकारी लगानी सबैभन्दा धेरै छ । साझामा ९० प्रतिशतभन्दा बढी शेयर सरकारी र स्थानीय निकायको रहेको छ ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले स्थानीयवासीलाई सेवा दिन साझाको शेयर खरिद गरिरहेको व्यवस्थापक पाण्डेयले जनाएका छन् । स्थानीय निकायले साझामा केही लगानी गर्ने र आफ्नो क्षेत्रमा साझाका बस गुडोस् भन्ने चाहिरहेको उनको भनाइ छ ।

काठमाडौँ र ललितपुर महानगरपालिका तथा गोदावरी र महालक्ष्मी नगरपालिकालगायतले साझाको शेयर खरिद गरेका छन् । उपत्यकामा अहिले १० वटा सडकमा साझाका ४७ बस संचालनमा छन् ।

लामो दूरीमा काठमाडौँबाट बाग्लुङ र कुस्मासम्म बस चलेका छन् । केही महीना पहिलेदेखि अपाङ्गमैत्री बससमेत सञ्चालन गर्दै आएको साझाले ई टिकट सेवाको पनि थालनी गरिसकेको छ ।

वि.सं २०१८ मा थालिएको साझाको सेवा लामो समयसम्म ठप्प भएपछि वि.सं २०७० बाट फेरि सुविधा सम्पन्न बससहित सेवा सञ्चालनमा ल्याएको थियो ।

धेरै यातायात कम्पनीले साझाले जस्तै यात्रुलाई सुविधा दिने गरी सेवा चलाएका छन् । साझा यातायातको व्यवस्थापनमा मङ्गलबारबाट विद्युतीय बससमेत संचालनमा ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here