कांग्रेसले जागरण अभियानलाई राहत र उद्धारमा रुपान्तर गर्न निर्देशन

0
91

हावाहुरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

काठमाडौं, जेठ २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा जारी पार्टीको जागरण अभियानको कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरेर जागरण अभियानका लागि कैलाली र कञ्चनपुरमा खटाइएका केन्द्रीय प्रतिनिधिहरुलाई मानवीय उद्धार र राहतको कार्यमा तत्काल जुट्नका लागि तमाम नेता कार्यकर्तालाई निर्देशन दिएको हो ।

राष्ट्रिय जागरण अभियानको पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गर्न तथा जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि र पार्टीका सम्पूर्ण साथीहरुलाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न यसै विज्ञप्तिमार्फत् नेपाली कांग्रेस आग्रह गर्दछ विज्ञप्तिमा भनिएको छ ।

‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको कार्यक्रम अन्तर्गत जेठ २५ गते सबै जिल्लाहरुमा र्यालीसहित आमसभा गरेर समापन गर्ने केन्द्रको परिपत्र रहेता पनि कैलाली र कञ्चनपुरमा हिजो (बिहीबार) साँझ आएको हावाहुरीका कारण हुन पुगेको मानवीय एवं भौतिक क्षतिप्रतिको संवेदनशीलतालाई आत्मसात् गरी उक्त दुई जिल्लाको राष्ट्रिय जागरण अभियानको पूर्वनिधारित सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गर्न तथा जिल्लामा तोकिनुभएका केन्द्रीय प्रतिनिधि र पार्टीका सम्पूर्ण साथीहरुलाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न यसै विज्ञप्तिमार्फत् नेपाली कांग्रेस आग्रह गर्दछ,’’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले विपदमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकारसँग माग पनि गरेको छ । कैलालीले कञ्चनपुरमा आएको हावाहुरीबाट दुई जनाको मृत्यु भएको छ भने झण्डै सयभन्दा बढी मानिसहरु घाइते भएका छन् ।

कांग्रेसले शुक्रबार विज्ञप्ति प्रकाशित गरी घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारको व्यवस्था गर्नुपर्ने र मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै जागरण अभियान अन्तर्गत २५ गते सबै जिल्लामा आमसभा गर्ने तय भएपनि कैलाली र कञ्चनपुरमा स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here