पुराना सवारी साधनमा प्रतिबन्ध

0
274

भीमदत्तनगर, चैत १२ । सरकारले चैत १ गतेदेखि देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएको थियो ।

त्यसैलाई अनुसरण गर्दै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको बताए ।

उनले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाइएको बताए । प्रतिबन्धित सवारी साधनमाथि निगरानी बढाउन अनुगमन टोलीसमेत गठन गरिएको छ ।

गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारीधनीलाई निर्देशनसमेत दिइएको थियो । ट्राफिक प्रहरीसित प्रतिबन्ध लगाउन समन्वय गरेका छौ भट्टले भने अनुगमन समितिले पनि जाँच गर्दैछ ।

पुराना सवारी साधनले वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले गत चैत १ गतेदेखि हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको यातायात कार्यालयले बताएको छ ।

प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १२४, ट्रक १०६, मिनीबस तीन, टिपर १० र एक/एक वटा कन्टेनर तथा मिनीट्रक छन् । त्यस्तै ट्र्याक्टर १३, जिप ५२ र १५ टेम्पो गुड्न नपाउने भएका छन् ।  बीस वर्ष पुराना सवारी साधन गुडाएको पाइए कारवाही गरिने भट्टले बताएका छन् ।

यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरमा ११ महिनामा दुई हजार १०१ सवारी साधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयका नायब सुब्बा नन्दराज भट्टका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा विभिन्न सवारी साधन दर्ता भएका हुन् ।

नयाँ दर्ता भएका सावरी साधनमा सबैभन्दा बढी एक हजार ५६२ मोटरसाइकल, सात वटा बस, मिनीबस/ट्रक चार, एक्साभेटर ४३, जिप/कार ३२ र माइक्रो १९ रहेको कार्यालयले जनाएको छ । सरकारी मोटरसाइकल ३७ र ट्र्याक्टर तथा इ–रिक्सा चार गरी ८४ वटा दर्ता भएका छन् ।

महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका लेखापाल अनिल चन्दका अनुसार चालू आवको फागुनसम्ममा रु आठ करोड ७४ लाख ९२ हजार राजश्व संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here