रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमा गर्न विज्ञहरुको सुझाव

0
643

काठमाडौँ, माघ ७ । रानीपोखरीको पुनःनिर्माणमा देखा परेको समस्या हटाउन गठित विज्ञ समूहले काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ ।

आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बुझाइएको प्रतिवेदनमा रानीपोखरी प्रताप मल्लकै पालाको जस्तौ शैली र प्रविधि अनुरुप निर्माण गर्नका लागि सुझाव दिइएको छ । यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैली अनुसार निर्माण गर्नुपर्ने भन्दै पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले रानीपोखरी, वरपर रहेका पर्खाल र बालगोपालेश्वर मन्दिर पनि पुरानै शैली अनुरुप निर्माण गर्न सकिने बताए ।

कामपा प्रमुख शाक्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र कामपाका प्रतिनिधि बसेर प्रतिवेदनको अध्ययनपछि मात्र कसरी र कहिलेदेखि निर्माणको काम हुन्छ थाहा हुने बताए । पाटन दरबार क्षेत्र, हनुमानढोका लगायतका केही ऐतिहासिक स्थानमा प्रवेश शुल्कमार्फत केही रकम लिने गरिएको भन्दै शाक्यले रानीपोखरी प्रवेशको लागि केही रकम लिनु कुनै नौलो विषय होइन, यसलाई नै व्यवसायिक भन्नु गलत हो शाक्यले भने ।

सोही अवसरमा सहभागीले पटक पटक निर्माणको कार्य शुरु गर्ने र भत्काउने गर्दा जनताकै पैसा सकिएकाले गलत निर्णय गर्नेप्रति कारबाहीको माग गरे । रानीपोखरी निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो ।

पहिलेको निर्णय अनुसार गत पुस २७ गते नै प्रतिवेदन बुझाउनुपर्ने भए पनि १० दिन थप समय माग गरी समूहले आज प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अध्ययनपछि पोखरीको उत्खनन पनि गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here