कोलकातामा ‘पानीघट्ट’ मञ्चन

0
684

काठमाडौँ, फागुन १३ । लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्माण गरिएको नाटक ‘पानीघट्ट’ शनिबार भारतको कोलकातामा मञ्चन गरिएको छ ।

पानीघट्ट र ठाडोभाकाबारे कुनै पनि जानकारी नभएका दर्शकले नाटक हेरिसकेपछि आफूहरु चकित परेको प्रतिक्रिया दिएका छन् । नाटकमा नेपाली संस्कृति र वर्तमान समाजको यथार्थलाई समेटिएको उनीहरुले बताएका छन् । कोलकाताको नागेरबजारस्थित अजितेश मञ्चमा आयोजित अन्तर्राष्ट्रिय नाटक उत्सवमा मञ्चित नाटक हेर्न प्रवासी नेपाली तथा गैरनेपालीहरुले उत्साहजनक सहभागीता जनाएका थिए ।

नाट्य युद्धले चौथो शम्भु मित्र एन्ड बिजन भट्टचर्जी स्मृति नाट्य उत्सव आयोजना गरेको हो । यही फागुन ११–१३ सम्म हिन्दी, बंगाली, नेपालीसहित ११ नाटक मञ्चन गरिएको थियो । ‘पानीघट्ट’ नाटक हेर्न आएका दर्शकले नेपाली संस्कृतिप्रति गौरव गरे ।

संयुक्त नेपाली केन्द्रीय सेवा संघका अध्यक्ष नरविक्रम थापा, भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष राजु पाठक, नेपाल पारवाहन तथा गोदाम कं लिमिटेडका विशेष अधिकृत लक्ष्मण खड्का, समाजसेवी रामप्रसाद बराललगायतले प्रवासी नेपाली समुदायबाट नेपाली कलासंस्कृति लोप हुँदै गएको अवस्थामा यसलाई जोगाउनुपर्छ भन्ने पाठ ‘पानीघट्ट’ले सिकाएको बताए ।

सवा एक घण्टाको ‘पानीघट्ट’ मा वैदेशिक रोजगारी र यसपछिका समस्या, बसाइँ सराइ र युवाशक्ति पलायन हुँदा गाउँमा देखिने सामाजिक तथा सांस्कृतिक समस्यालगायतको विषय प्रस्तुत छ । कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले नाटकले नेपाली संस्कृतिको यथार्थ चित्रण गरेको बताउँदै नेपाली कलासंस्कृति बचाउन महावाणिज्यदूतावास लागिपरेको स्पष्ट पारिन् ।

गायिका सुजाता वर्माले नाटक हेरेपछि नेपाली संस्कृतिलाई बचाइराख्नुपर्ने विचार सबैमा आएको बताइन् । नाटकका लेखक/निर्देशक पुरु लम्सालले मुलुकभित्रकै नाटकघरमा मात्रै नेपाली नाटक मञ्चन भइरहेका अवस्थामा प्रवासमा गएर पनि सांस्कृतिक तथा सामाजिक सचेतना जगाउँनुपर्ने बताउँदै अघिल्लो पुस्ताको वास्तविकता र अहिलेको यथार्थलाई समिश्रण गरी नाटक निर्माण गरिएको जानकारी दिए ।

भारतीय मञ्चमा कलाकार विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, केदार बोहोरा, शान्ति श्रेष्ठ, नरमाया तामाङ, हिमाल मजाकोटी, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, विमला मिजार, सञ्जोग लामिछाने र बालकलाकार विप्लव बोहोराले अभिनय प्रस्तुत गरेका थिए ।

उनीहरुलाई कोलकाताका कलाकार आशा बराल र नेहा धमलाले साथ दिएका थिए । नाटकलाई कोलकताको अन्तर्राष्ट्रिय नाटक उत्सवसम्म पुर्याउनका लागि संयोजन गरेका त्रिविका प्रा डा अशोक थापाले नेपाली नाटकका माध्यमबाट प्रवासी नेपालीलाई आफ्नो संस्कृति र यथार्थ देखाउन कोलकातासम्म नाटक ल्याइएको बताए ।

संस्कृतिकर्मी जयराम तिमिल्सिनाले समाजलाई नाटकका माध्यमबाट घच्घच्याउन र ब्युँताउन सकिने भएकाले नेपाली नाटकको व्यापकताको अझै खाँचो औंल्याए । रंगमञ्चमा प्रस्तुत उक्त नाटकको कथा नाटककार लम्सालले २०६४ सालमा लखेका थिए ।

नाटककार लम्सालले लमजुङमा गत माघ १८ देखि २० गतेसम्म मञ्चन गरिएको नाटक ‘पानीघट्ट’ र गत वर्ष प्रदर्शन गरिएको नाटक ‘फड्के’ लाई पुस्तकमा समेत उतारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here