खानीडाँडा–रेग्मीटार सडक निर्माणको कार्य सुस्त गतिमा

0
338

खोटाङ, चैत १२ । तराईका जिल्ला जोड्ने सबैभन्दा कम दुरीको खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम सुस्त गतिमा छ ।

करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिएको सो सडकको रेग्मीटार र खानीडाँडाबाट एकैसाथ काम शुरु गरे पनि अहिले दुवै क्षेत्रमा काम अगाडि बढ्न सकेको छैन । साढे २२ किलोमिटर लामो उक्त सडकको रेग्मीटारबाट करिब एक हजार १०० मिटर र खानीडाँडाबाट साढे १२ किलोमिटर मात्र मार्ग खोलिएको छ ।

रेग्मीटारबाट करिब साढे दुई किलोमिटर मार्ग खोल्ने जिम्मा रोका निर्माण सेवाले लिएको हो । यसवर्ष उक्त निर्माण सेवाले रु एक करोड १० लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन । क्रमागत योजना अन्तर्गत गतवर्ष सो कम्पनीले रु ७५ लाखको काम गरेको जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख दीपेन्द्र यादवले बताए ।

खोटाङको दिक्तेलबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा कम मार्गमा पर्ने खानीडाँडा–रेग्मीटार सडक निर्माणको कार्यमा भइरहेको ढिलासुस्ती तथा समस्याका बारेमा जिल्ला समन्वय समितिका पदाधिकारी र प्राविधिक टोलीले शुक्रबार स्थलगत अध्ययन गरेको थियो । समन्वय समितिका सदस्य एवं भौतिक योजना तथा पूर्वाधार विकास समिति संयोजक उदयबहादुर कार्की नेतृत्वको अनुगमन टोलीकले उक्त सडक जिल्लाको गौरवको योजना भए पनि अपेक्षित प्रगति र गुणस्तरीय काम नभएको ठहर गरेको छ ।

निर्माणको जिम्मा लिएको कम्पनीका शशि राईले गतवर्ष खोलिएको मार्ग कम समयमा धेरै काम गर्नुपर्ने भएकाले मापदण्ड अनुसार नभएको स्वीकार्दै यसवर्ष सबै काम सम्पन्न गर्ने बताए । अख्तियारी पनि ढिलो आयो, सबै काम सम्पन्न पनि भएको छ उनले भने यसवर्ष शुरुबाटै मापदण्ड अनुसार काम गर्छौँ । निर्माणस्थलभन्दा केही तल्लो भागमा अहिले चैते धान रोप्ने काम भइरहेको छ ।

धान रोपाइँ सकिनासाथ स्काभेटर र ब्रेकर लगेर जाने तयारीमा छौँ । तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु ढुवानीमा सहजता ल्याउने उद्देश्यले दुई वर्षअघि बसेको सर्वदलीय/सर्वपक्षीय भेलाले उक्त सडकलाई उच्च प्राथमिकतामा राखेको थियो ।

सर्वदलीय/सर्वपक्षीय निर्णयसँगै छिटो सम्पन्न गर्ने उद्देश्यले दुवै क्षेत्रबाट काम थालिएको सो सडकको खानीडाँडाबाट दिखुवादोभानसम्म करीव साढे १२ किलोमिटर मार्ग खोलिएको छ ।

तीन वर्षभित्र मार्ग खोलिसक्ने लक्ष्यका साथ काम थालिएको उक्त सडकखण्डमा ठूलाठूला चट्टान रहेकाले सहज रुपमा निर्माण कार्य गर्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here