जयरामघाटमा पक्की पुल बन्दा हलेसी आउने पर्यटकमा वृद्धि

0
493
Halesi Mahadev Temple

खोटाङ, पुष ३० । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीय स्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ ।

राजधानी काठमाडौँलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बन्दा आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या ह्वात्तै बढ्न थालेको हो । निर्माणको काम थालेको नौ वर्षपछि मात्र उक्त पक्की पुल सञ्चालनमा आएपछि हिउँद वर्षा बाह्रै महिना नदी वारपार गर्ने वातावरण बनेसँगै हलेसीमा दर्शनार्थी, पर्यटक ओइरिन थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलको भनाई छ ।

जयरामघाटमा पक्की पुल बनेसँगै सहज रुपमा सवारी साधनबाट सिधै दूधकोशी तरेर हलेसी आउने वातावरण बनेको उनले बताए । यसअघि सुनसान जस्तै हुने हलेसीमा पछिल्लो समय दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भीड लाग्ने गरेको छ भुजेलले भने । मध्यपहाडी लोकमार्गले छोएका कारण हलेसी आउन सहज भए पनि पुलको अभावमा वर्षाको समयमा आन्तरिक तथा बाह्य दर्शनार्थी कम आउने गरेका थिए ।

गत मंसिर ८ गतेदेखि सो पुल सञ्चालनमा ल्याइएको थियो । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको त्रिवेणीस्थल मानिने हलेसीमा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका हजारौँ दर्शनार्थी आउने गरेका छन् । हलेसीमा आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै व्यापार व्यवसाय पनि फस्टाउँदै गएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

विगतका वर्षमा खाली रहने हलेसीका होटल अहिले भरिभराउ हुने गरेको उनले बताएका छन् । पर्यटक र दर्शनार्थीको संख्या बढ्न थालेपछि सुविधा सम्पन्न होटलहरु धमाधम खल्न थालेका छन् । धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ । महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुङ्देलोगुफा लगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले बताए ।

सदरमुकाम दिक्तेलबाट पश्चिमी क्षेत्रमा पर्ने हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीजलगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here