कास्कीलाई समृद्ध जिल्ला बनाउने कांग्रेसको प्रतिवद्धता

0
170

पोखरा, कात्तिक २० । आफ्नो जिल्लालाई समृद्धि र विकासको बाटोमा लैजान नेपाली काँग्रेस कास्कीले कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट जिल्लामा बनेका उम्मेदवारको उपस्थितिमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्लाको घोषणापत्र सार्वजनिक गर्दै काँग्रेसले कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासका माध्यमबाट जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको हो । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले कास्कीका जनताको आय वृद्धि गर्दै प्रत्येक परिवारको जीवनस्तर उकास्ने पार्टीको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि लगानीको विस्तार गर्दै सम्पूर्णलाई रोजगारको अवसर उपलब्ध गराउने भट्टराईले बताए । तालहरूको संरक्षण, सडक सञ्जालको विकास तथा विस्तार आवश्यक पुलको निर्माणलाई अघि बढाउने काँग्रेसले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले काँग्रेसको विजयबाट मात्रै संविधानको कार्यान्वयन र लोकतन्त्रको विकास हुने बताए । वाम गठबन्धनका नाममा देशलाई एक दलीय कम्युनिष्ट अधिनायकवादतर्फ लैजान खोजिएको आरोप लगाउँदै उनले यसतर्फ प्रत्येक नेपाली सचेत हुनुपर्ने बताए । प्रतिनिधिसभा कास्की क्षेत्र नं २ का उम्मेदवार देवराज चालिसेले विकासका लागि स्थानीय आवश्यकता अनुसार समयसापेक्ष सोच र नवीनतम् प्रविधिको प्रयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ का उम्मेदवार शुक्रराज शर्माले पर्यटनको अत्यधिक सम्भावना बोकेको पोखराबाट लुम्बिनीका साथै उत्तरमा कैलाश मानसरोवरलाई जोड्नुका साथै आर्थिक विकास र समृद्धिलाई दृष्टिगत गरी महत्वपूर्ण योजनालाई काँग्रेसले अघि बढाउने बताएका छन् ।

कार्यक्रममा प्रदेशसभातर्फका उम्मेदवार कास्की १ (क) का जीवन परियार, १ (ख) का कृष्ण केसी, २ (क) का गुरुप्रसाद बराल, २ (ख) का विन्दुकुमार थापा, ३ (क) का शारदा पौडेल र ३ (ख) का सिकन्दरकुमार गुरुङले जिल्लाभित्रका सम्भावनालाई केलाउँदै कास्कीलाई समृद्ध जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here