मंगलबारदेखि सौराहा–पोखराका लागि सुविधासम्पन्न बस चल्ने

0
432

चितवन, असार ३२ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालन गरिने भएको छ ।

सौराहाबाट पोखराका लागि दैनिक एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालनमा ल्याउन लागिएको हो । २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर रु एक हजार ५०० रहेको ट्राभल्सका अध्यक्ष केशव अधिकारीको भनाइ छ ।

उक्त भाडाबापत यात्रुले बिहानको खाजा, खाना, चिया, कफी, चिसो पेय पदार्थसँगै पत्रपत्रिका पढ्न पाउने व्यवस्थासमेत गरिएको उनले बताए । बसमा आरामले सुतेरसमेत यात्रा गर्न सकिने उनको भनाइ छ ।

सौराहाबाट हाल एउटा पर्यटक बस र एउटा भाडाको गाडी पोखरा दैनिक आवतजावत गर्ने गरेको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सुविधासम्पन्न बस सञ्चालनसँगै खर्च गर्न चाहने पर्यटकका लागि सहज हुने जनाए ।

पछिल्लो समय पर्यटकले सुविधा चाहेको भन्दै उनले यससँगै चितवनको सौराहा र कास्कीको पोखराका बीचमा पर्यटक आवतजावतका लागि सहज हुने बताएका छन् ।

पोखरा जगदम्भा ट्राभल्सको बस बिहान ७ः३० बजे सौराहाबाट र सोही समयमा पोखराबाट छुट्ने छ ।

उक्त ट्राभल्सका ६० वटा बस पोखराबाट काठमाडौँ, विराटनगर, धनगडी, काँकडभित्ता, धरानलगायतका शहरमा सञ्चालित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here