साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गरे ठूला उद्योगको विकासमा मद्दत पुग्ने : अध्यक्ष दाहाल

0
555

काठमाडौँ, जेठ २४ । साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भनाइ छ ।

आज साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आर्थिक विकासको आधार साना तथा मझौला व्यवसाय भएकाले यसलाई व्यवस्थित र मर्यादित गर्दै लैजानुपर्ने बताए ।

उनले अहिले देशमा दुईतिहाइ बहुमतको स्थिर सरकार भएकाले देशको आर्थिक विकास अभियानमा सबै मिलेर लानुपर्ने भन्दै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध राम्रो भएकाले दुवै देश आर्थिक विकासबाट लाभान्वित हुने बताए ।

लामो समयको प्रयासपछि देशमा आर्थिक विकासको निम्ति राजनीतिक वातावरण तयार भएको भन्दै अध्यक्ष दाहालले सबै राजनीतिक दलले एक अर्कालाई मद्दत गरेर देशको समृद्वितर्फ एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले कृषि क्षेत्र, पर्यटन क्षेत्र, व्यवसायका अन्य विभिन्न उद्योग र रोजगारीको सृष्टिको विविध सम्भावनालाई सदुपयोग गरेर स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्नसके विदेशिएका कैयौँ युवा स्वदेश फर्किने विचार व्यक्त गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष बाबुकाजी महर्जनले समृद्व नेपाल निर्माणका लागि महासंघले ‘एक घर एक व्यवसाय’ भन्ने नारा ल्याएको भन्दै यसलाई व्यवस्थित गर्न महासंघ लागिपरेको जनाएका छन् ।

कार्यक्रममा अध्यक्ष दाहालले महासंघद्वारा प्रकाशित ‘एसएमई फोकस’ नामक पुस्तकको विमोचन गरे । पुस्तकमा उद्योगसम्बन्धी विभिन्न अनुसन्धानत्मक लेख, महिलालाई कसरी उद्यमी बनाउने, पर्यटन व्यवसायको महत्वलगायतको लेख राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here