सोलुखुम्बुका ६ स्थानीय तहमा बैंक नहुँदा सदरमुकाम धाउनुपर्ने बाध्यता

0
497

सोलुखुम्बु, भदौ २५ । सोलुखुम्बुमा रहेका आठ स्थानीय तहमध्ये ६ स्थानीय तहमा बैंक नहुँदा त्यहाँका स्थानीयले भोग्नु सास्ती भोगेका छन् ।

बैंक नभएका कारण त्यहाँका स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको छ । बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बताउँछन् ।

गाउँमा बैंक नभएकाले गर्दा गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको र त्यसैले हरेक आर्थिक कारोबार गर्नको लागि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । अहिले सदरमुकाम रहेको दूधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजीसमेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् भने खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ । तीबाहेक अन्य छवटा गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ ।

बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुन थालेका छन् । सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पुर्याउने भनेको भएता पनि अहिलेसम्म पुर्याउन सकिरहेको छैन ।

जिल्लाको दूधकोशी, दूधकौशिका, सोताङ र नेचासल्यान गाउँपालिकामा बैंकको शाखा राख्नका लागि प्रक्रिया अघि बढेको भए पनि महाकुलुङ र लिखुपिके गाउँपालिकामा अझै कुन बैंकले शाखा लैजाने भन्ने समेत टुंगो लागिसकेको छैन । बैंकले शाखा लैजान नमानेको बताउँदै महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराती त्यसको लागि पहल भने भइरहेको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here