शिबालय धार्मिक पर्यटकीय क्षेत्र ओझेलमा

0
226

बद्री पन्त
जाजरकोट, पुस २९ । जाजरकोट सदरमुकाम नजिकै कालेगाउँमा रहेको धार्मिक तथा ऐतिहासिक शिवालय क्षेत्र ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसारको नहुदा यो क्षेत्र ओझेलमा परेको देखिन्छ । भेरी नदीको किनारमा रहेको धार्मिक दृष्टिले निकै सम्भावना वोकेको पर्यटकीय क्षेत्र हो । जाजरकोट जिल्लाको, स्थानीय परम्परा, लोक सँस्कृति र इतिहाससंग प्रत्यक्ष जोडिएको शिवालय क्षेत्र जाजरकोट लगाएत रुकुम सल्यान सुर्खेत जिल्लाको धार्मिक तिर्थस्थलको रुपमा परिचित छ । स्थानीयवासी सरोकारवाला निकाय र सरकारको गतिलो ध्यान पाउन नसकेको यस शिवालय क्षेत्रको उचित संरक्षण हुन सके जाजरकोटको इतिहासको संरक्षण मात्र नभइ पर्यटन प्रवर्धनमा ठुलो मद्दत पुग्ने देखिन्छ ।

शिवालय क्षेत्रमा तीनवटा ऐतिहासिक एवम कलात्मक मन्दिरहरु रहेका छन् । सुरुमा सुनको गजुर भएको वुढापाको भनाइ भएपनि अहिले एउटा मन्दिरमा सुनको जलप लागेको गजुर र अन्यमा जिर्ण रहेका काठ र अन्य वस्तुका गजुरहरु रहेको पाइन्छ । शिवालय क्षेत्रमा रहेका तीन वटा मध्य एउटा जाजरकोटी राजा इन्नारायण शाहका छोरा दिपनारायण शाहले आफनी आमा शिवकुमारीको सम्झनामा वनाएको मन्दिरको नाम हो शिवेस्वर, त्यस्तै दीपनारायणका छोरा जंगवहादुर शाहले वुवा दीपनारायण शाह र आमा दुर्गाकुमारी (रणवहादुर शाहकी छोरी)को सम्झानामा अर्काे मन्दिर वनाए जसको नाम हो दीपदुर्गेस्वर र जंगवहादुर शाहका छोरा अम्वरवहादुर शाहले आफना दाजु महाशम्सेर शाहको नाउँमा वनाएको मन्दिरको नाम हो महामुक्तेस्वर । जाजरकोटी राजा दीपनारायण शाह र उनका छोराहरुले दुइ सय वर्ष अघि निर्माण गरेको शिवालय क्षेत्र अहिले ओझेलमा पर्दै गएको स्थानीय सरोकारवाहरुको भनाइ छ । तेलिया इटटाको प्रयोग गरि अति कलात्मक रुपमा वनेका मन्दिरहरुको सुन्दरता र वरीपरीको प्राकृतिक वातावरणले शिवालय क्षेत्र ठुलो सम्भावना वोकेको पर्यटकीय एवम धार्मिक क्षेत्र वन्न सक्ने भेरी नगरपालिका १ कालेगाउँका स्थानीय वासी एवम पत्रकार सहदेव वस्नेत वताउछन् ।

शिवालय क्षेत्र भित्र रहेका तीन वटा मन्दिरहरु सन १८८३ मा महामुक्तेस्वर, १८८७ दिपदुर्गेस्वर र १८९७ मा शिवेस्वर मन्दिर २ सय बर्ष अघि निर्माण गरीएको शिवालय गुठी संरक्षण तथा व्यवस्थापन समितिका सचिव दलबहादुर खत्रीले बताए । कलात्मकताले सवैलाइ मोहित पार्ने परेको मात्र होइन यसको ऐतिहासिक तथा धार्मिक महत्व पनि त्यतिकै रहेको छ । तेलिया इट्टावाट वनेका ती मन्दिर र शिवालय क्षेत्रले नेपाल एकिकरणको सन्दर्भ र जाजरकोट र गोर्खाली सेनाविचको सम्वन्धको महत्व पनि दर्साउने गरेको खत्रीले जानकारी गराए । जाजरकोट र गोरखाका राजा एवम पछि काठमाडौं र जाजरकोट राज्य विचको वैवाहिक तथा कुटनैतिक सम्वन्धका केहि विषयलाइ यो शिवालय क्षेत्रमा रहेको दीपदुर्गेस्वर मन्दिरले झल्काउछन् । छेउमै कलकल वग्ने भेरी नदीको सुन्दरता संगै खुल्ला चौर अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको शिवालय क्षेत्रलाइ जिल्लाकै उत्कृष्ट एवम आकर्षक पर्यटकीय स्थल वनाउनु पर्ने स्थानीय ओमप्रकाश पौडेलले बताए ।

शिवालयगुठी संरक्षण तथा व्यवस्थापन समितिको तर्फवाट शिवालय क्षेत्रमा रहेका मन्दिरहरुको संरक्षण, सम्वर्द्धन, शिवालय सम्म पुग्ने वाटो, खानेपानी, आगन्तुकलाई विभिन्न खेलकुद तथा मनोरञ्जन साथै अन्य धार्मिक संस्कारहरुमा सहभागि गराउनका लागि आवस्यक पुर्वाधार तथा तयारी जरुरी रहेको शिवालयगुठी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष योगबहादुर वलीले जानकारी गराए । पहिले १६ रोपनी क्षेत्रफलमा रहेको शिवालय क्षेत्र अहिले आएर ७ रोपनी क्षेत्रफलमा मात्र सिमित भएको र यसको संरक्षण गरि जिल्लामा पर्यटन व्यवसायको विकास गराउन स्थानीयवासी सरोकारवाला र स्थानीय सरकारले गम्भीर चासो दिनु पर्ने वडा अध्यक्ष दिपक रानाले बताए । सडक यातायातको पहुच भित्रै रहेको शिवालय क्षेत्रको उचित विकास र व्यवस्थापन हुन सके वर्षेनी हजारौं आन्तरिक तथा वाहय पर्यटकहरु शिवालय भ्रमणमा आउने मात्र नभर स्थानीय युवाहरुका लागि रोजगारीको राम्रो अवसर सिर्जना हुन सक्ने रानाको भनाई छ । भेरी नदीमा पौडी तथा रयाप्टिंग खेल्ने, खुल्ला हरिया चौरहरुमा वनभोज खाने, पवित्र शिवालय मन्दिरको दर्शन गर्ने, विभिन्न प्रकारका खेलकुदहरु सन्चालन गर्ने लगाएतका मनोरन्जनात्मक क्रियाकलापका लागि शिवालय अति सम्भावनायुक्त एवम उर्वर क्षेत्र भएपनि सरोकारवालाहरुको उचित ध्यान गएको पाइदैन स्थानीय उत्तर बटालाको भनाई छ ।

विशेष गरि शिवरात्री, तीज, चैते दशैं रामनवमी तथा स्वस्थानी पर्वका वेला सयौं भक्तजनहरुको उपस्थितीमा ठुलो मेला लाग्ने गरेको शिवालय क्षेत्र अव फुर्सदका वेला या विदाका दिन मनोरन्जन प्राप्त गर्ने ठाउँको रुपमा परिणत हुन जरुरी रहेको छ बटालाले भने । विगतमा तत्कालीन जिल्ला विकास समिति र अन्य सरकारी तथा गैरसरकारी निकायको सहयोगमा शिवालय क्षेत्रको सुधार एवम विकासका लागि थोरै प्रयासहरु भएको भए पनि खासमा यस क्षेत्रको प्रचार प्रचार र विकासका लागि ठोस पहल नभएको अध्यक्ष वलीले बताए । शिवालय क्षेत्रलाइ सुन्दर एवम मनोरम क्षेत्र वनाउनका लागि व्यवस्थित आर्यघाटको निर्माण, जोगीवावाहरु वस्ने कुटीको निर्माण, पाहुना घरको निर्माण, सुन्दर वगैचाको निर्माण, गाडी पार्किंङको उचित व्यवस्था, वृद्धाश्रमको निर्माण तथा नदिसम्म पुग्नका लागि पक्की सडक र मान्छेहरु हिड्ने सहज पैदल मार्ग निर्माण लगाएतका योजना कार्यान्वयन हुनु पर्ने पर्यटन पत्रकार महासंघका केन्दिय सदस्य दिपबहादुर घर्तीले जानकारी गराए ।

तत्कालीन जिल्ला विकास समितिको तर्फवाट पनि शिवालय क्षेत्रको संरक्षणका लागि विभिन्न समयमा विभिन्न सहयोगहरु उपलव्ध गराइएको भएपनि अहिले सवैको वेवास्ताले शिवालय क्षेत्रको समग्र अवस्था जीर्ण देखिएको घर्तीले सुनाए । शिवालय क्षेत्रलाई जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन र विकास गर्न सके आन्तरिक र वाहय पर्यटकहरुको आवागमन निकै वढ्न सक्ने सम्भावना देखिन्छ घर्तीको भनाई छ । यसका लागि स्थानीयवासीहरु, स्थानीय राजनैतिक दल, जनप्रतिनिधि र विभिन्न क्षेत्रका व्यावसायीहरुले अग्रसरता लिएर अघि वढ्न जरुरी देखिन्छ । शिवालय क्षेत्रलाई वलियो घेरावार गरेर स्थानीय सरकारले आफनो स्वामित्वमा लिदै यसको विकासको जिम्मेवारी लिनु आवस्यक देखिन्छ । धार्मिक तथा ऐतिहासिक शिवालय क्षेत्रको प्रचारप्रसार गर्न नेपाल पर्यटन पत्रकार महासंघले दोस्रो जिल्ला अधिवेसन शनिबार शिबालमा गरेको थियो । यो क्षेत्रको प्रचारप्रसार गर्न कार्यक्रमको आयोजना गरिएको थियो । संघले पर्यटकिय एवम धार्मिक स्थलहरुलाई मुख्य प्राथामिकताम राखि १४ बुद्धे शिवालय घोष्णा पत्र समेत जारी गरेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here