चन्दा संकलन गरेर विद्यालयमा ११ थान कम्प्युटर जडान

0
318

खोटाङ, भदौ ११ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा चन्दा संकलन गरेर कम्प्युटर कक्षा सञ्चालन गरिएको छ ।

सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा संकलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो । विद्यालयमा विद्युत् नभएको समयमा पनि कक्षा सञ्चालन गर्नका लागि १६ थान सोलार सेटसमेत जडान गरिएको छ ।

समाजसेवी राईले नौ थान कम्प्युटर र १६ थान सोलार सेट साकुमा फ्रेण्डसिप ट्रष्ट युकेमार्फत विद्यालयलाई उपलब्ध गराएको सो विद्यालयका प्रधानाध्यापक तुलसीराम पोखरेलले बताए । थप तीन थान कम्प्युटर ध्यानकुमार राई, उषा–दीपेन राई र मुकेश राईले एक/एक थान उपलब्ध गराएको बताइएको छ ।

विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न रु १२ लाख २५ हजार बराबरको अक्षयकोषसमेत स्थापना गरिएको छ । सुन्तलेमा जन्मिएर रोजगारीको शीलशिलामा विभिन्न देशमा काम गर्दै आएका प्रवासीहरुबाट रु १० लाख ८९ हजार र स्थानीयवासीबाट संकलन भएको रु एक लाख ४३ हजार गरी अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि राईले जानकारी गराए ।

‘सुन्तले कम्प्युटर सञ्चालन अक्षयकोष’ नाम दिइएको अक्षयकोष स्थापनाका लागि कुवेतमा रहेका सुन्तलेका केदार आलेमगरको नेतृत्वमा रकम संकलन गरिएको बताइएको छ । अक्षयकोषमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले रु १० हजार, गाउँपालिका प्रमुख शालिकराम बञ्जराले रु २० हजार ५००, उपप्रमुख गोमा मगरले रु पाँच हजार र नेपाल कम्युनिष्ट पार्टीका स्थानीय युवा नेता निश्चल खड्काले रु सात हजार रकम उपलब्ध गराएको अध्यक्ष राईले बताए ।

भौगोलिक रुपमा विकट मानिने सुन्तलेमा पहिलो पटक कम्प्युटर कक्षा सञ्चालन भएपछि कम्प्युटर सिक्ने विद्यार्थी तथा स्थानीयको भीड लागेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै स्थानीयवासीलेसमेत न्यून शुल्कमा आफ्नै ठाउँमा कम्प्युटर शिक्षा लिन पाउने व्यवस्था भएपछि सुन्तलेवासी निकै खुसी भएका छन् ।

तीन सय ७१ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा स्थापना गरिएको कम्प्युटर कक्षामा केही दिनमै कम्प्युटर सिक्न चाहने स्थानीयवासीलाईसमेत अवसर दिइने सञ्चालक समितिको भनाइ छ ।

विद्यालयमा कम्प्युटर कक्षा स्थापना भएसँगै इमेल÷इन्टरनेट सेवासमेत विस्तार गर्ने तयारी गरिएको प्रअ पोखरेलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here